Subscribe Us

गाउँबस्तीमा माया बाँड्दै अञ्जु पन्त


काठमाडौँ, २४ मंसीर । नेपाली गीतसंगीतकी चर्चित गायिका अञ्जु पन्त हिजोआज स्टुडियोमा भेटिँदैनन् । अरुबेला दैनिक रेकर्डिङ स्टुडियोमै व्यस्त हुने गरेकी अञ्जुले केही दिनयता भने तराइका विभिन्न जिल्लामा राहत बाँडिरहेकी छन् । उनले यो साता तराईका विभिन्न जिल्ला र स्थानका विद्यालयमा आफै पुगेर विद्यार्थीहरुलाई कापी, कलम र ब्यागलगायतका सामग्री विरण गरेकी छन् ।

गायिका अञ्जुले पछिल्लो केही वर्षयता आफूलाई सामाजिक सेवामा पनि क्रियाशील गराउँदै आएकी छन् । अञ्जु पन्त फाउण्डेशन स्थापना गरेर अनाथ र असाहय बालबालिकाका लागि सेवा गर्दै आएकी अञ्जुले यो साता बिरगञ्ज कारागारको समता स्कुलका विद्यार्थीहरूलाई १०० स्कुल ब्याग, ४०० कपी, १०० इरेजर, १०० कटर तथा चकलेटलगायतका सामग्री वितरण गरेकी छन् । त्यस्तै पर्सा महुवनरामनगरिया अपांग आश्रममा २० जनाका लागि २० वटा फाइबर सिरक र चकलेट–बिस्कुट वितरण गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गरएकी छन् ।


साथै, यही १८ मंसिरमा सर्लाही हरिपुरका मुसहर बालकालिकाहरूलाई ५५ वटा स्कुल ब्याग, २२० कापी, ५५ पेन्सिल, ५५ कटर, ५५ इरेजर तथा चकलेट बिस्कुट प्रदान गरेकी छन् ।

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफूलाई उचाइमा राख्न सफल हुँदै आएकी गायिका अञ्जु पन्तले भन्छिन्, ‘मलाई सानैदेखि अरूलाई सहयोग गर्न पाउँदा अझ भविष्यका कर्णधार बालकालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ ।’ त्यसैअनुप ‘अन्जु पन्त फाउण्डेसन’ स्थापना गरेर सामाजिक सेवामा अगाडि बढेको उनको भनाइ छ ।


केही दिनयता गीत रेकर्डिङ र कार्यक्रम छाडेर सामाजिक सेवामा निस्केकी अञ्जुले यसै साता मकवानपुरको खैराङका चेपाङवस्तीका बालबालिकाहरूका लागि ८८ वटा स्कुल ब्याग, ८८ पेन्सिल, ३५२ कापी, ८८ इरेजर, ८८ कटर, तथा विस्कुट चकलेटहरू वितरण गरेकी छन् । त्यस्तै, पर्साको बेलवा गाउँको मुसहर वस्तीमा ४९ वटा फाइबर सिरक आदि सहयोग गरेको उनले जनाएका छन् ।

उपत्यका बाहिरमात्र नभएर यही भक्तपुरका ३५ जना बृद्धहरुलाई ३५ वटा फाइबर सिरक वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी गराएकी छन् । उनले डोटीमा एचआईभी पीडित बुवाआमाका बालबालिकाहरूलाई शैक्षिक सहयोग निरन्तर गर्ने जनाएकी छन् ।

गायिका अञ्जुले आफ्नो सामाजिक कार्यबारे उल्लेख गर्दै भनेकी छन्, ‘मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ प्रेमपुर्वक सहयोग कार्यक्रम लिएर गाउँबस्तीमा छु ।’

Post a Comment

0 Comments