Subscribe Us

इपिएल–भैरहवा उपधि नजिक


काठमाडौँ, ६ पुस । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १०१ रनको विजय लक्ष्यलाई भैरहवाले १७ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । भैरहवाको जीतमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रबी इन्द्रर सिंहले ३१, रोहितकुमार पौडेल नौ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन जोडे ।

काठमाडौँका संसद् शेखले दुई विकेट लिए भने प्रदीप साहुले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय रनको योगफल बनाएको थियो ।

काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे भने प्रदीप साहुले २५ तथा अमित श्रेष्ठले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाडौँलाई एक सय रनमा समेट्ने क्रममा भैरहवाका कुशल मल्लले तीन विकेट लिए भने मोहमद नाभिदले दुई विकेट झारे । जीतसँगै भैरहवाले यही पुस ७ गते शनिबार हुने फाइनल खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । 

Post a Comment

0 Comments