Subscribe Us

गृहमा खेतान निषेध !

काठमाडौं । कुनै बेलाका चर्चित व्यापारिक घराना राजेन्द्र खेतानलाई गृह मन्त्रालय प्रवेशमा निषेध गरिएको छ । 

सार्वजनिक कार्यक्रम र व्यापारिक कार्यक्रममा त्यति धेरै देखा नपर्ने व्यापारी खेतान एक हप्ता अघि गृहमन्त्री रामबहादुर थापासँग समय लिएर मन्त्रालयमा भेट्न पुगेका थिए । तर उनलाई गृहमन्त्रीले नभेटी अबदेखि मन्त्रालयनै नआउनु भन्ने सन्देश दिएर फर्कादिएका छन् ।

गृहमन्त्रालयले मदिरा सेवनले समाजमा नकारात्मक असर पारेको भन्दै सरकारले मदिरा उत्पादन, बिक्री वितरणमा कडाई गर्न कार्यकारी आदेश ल्याउने तयारी गरेपछि गोर्खा ब्रुअरी लिमिटेडमा आफ्नो केही हिस्सा शेयर भएको नाताले खेतान गृहमन्त्रीलाई भेट्न पुगेका थिए । 

गोर्खा ब्रुअरीमा करिव ९ प्रतिशत मात्रै शेयर रहेको भए पनि नेपालमा त्यसको उत्पादनले धेरै बजार हिस्सा ओगटेका कारण मदिरा विक्री वितरणमा रोक लगाउदा असर पर्ने देखिएपछि उनी गृहमन्त्रीलाई भेटन पुगेका थिए । तर उनले भेट्न नपाई फर्कनु परेपछि अध्यरो अनुहार लगाएको मन्त्रालयका एक कर्मचारीले बताएका छन् । ‘मन्त्रालयले तयार पारेको मदिरा नियम सम्बन्धी विषयमा कुरा गर्न आएका रहेछन् सचिवालयका सदस्यले मन्त्रीको सन्देश सुनाएर अबदेखि नआउनु भन्दै फर्काइदिए’, मन्त्रालयका एक अधिकारीले भने । 

गृह मन्त्रालयले मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५ स्वीकृतीका लागि मन्त्रिपरिषद पठाएपनि मदिरा व्यवशायीको दबाबमा स्वीकृत हुन सकेको छैन । यो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भए मदिराको जथाभावी उत्पादन र आयातमा अंकुश लाग्नेछ। त्यसले मदिरा बेचबिखन र सेवनमा समेत प्रभाव पार्नेछ । गृहले मन्त्रिपरिषदमा पठाएको मस्यौदाले सबैभन्दा ठूलो असर मदिरा उद्योग र विदेशी मदिरा आयतकर्तालाई पर्नेछ । 

सरकारको कार्यकारी आदेशअनुसार मदिरा परिमाणसहित स्वास्थ्यमा पर्ने सम्भावित जोखिमको सन्देश र अधिकतम बिक्री मूल्य नतोकिएको मदिरा आयात गर्न पाइने छैन । नेपालमा मदिरा आयातमा यसप्रकारको मापदण्डले विदेशी मदिरा ब्यारलमा ल्याएर लेबलिङ गरी बिक्री गर्ने कार्य समेत रोकिनेछ । 

आदेश मस्यौदामा नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिने उल्लेख छ । इजाजत प्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी गरिसकेका बाहेक अन्य उद्योगको सञ्चालन अनुमति रोकिनेछ। इजाजत प्राप्त गरी सञ्चालनमा रहेका मदिरा उद्योगको शाखा विस्तार तथा क्षमता अभिवृद्धि अनुमति हाललाई स्थगित हुनेछ ।

नेपाल–भारत सीमा (दश गजा)बाट नेपाल तर्फको १ किलोमिटर भित्रका क्षेत्रमा नयाँ मदिरा पसल सञ्चालनको अनुमति दिइने छैन । सरकारले लागू गर्ने नयाँ नियमअनुसार धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तिमा ३ किलोमिटर टाढा मात्र उद्योग सञ्चालन गर्नु पर्नेछ । कुनै समय गोर्खा ब्रुअरी राजस्व धेरै तिर्ने देशका १० कम्पनी भित्र पथ्र्यो । अहिले गुमनाम भएको खेतान कुनै बेला संविधान सभाका सभासद थिए । 

वित्तीय क्षेत्र सुधारमा राजेन्द्र खेतान पुरा समर्थन गर्न सक्थे नेपाल बैंकमा उनकोे सेयर लगानी थियो, उनी एक जना संचालक पठाउने हैसियत राख्थे । सरकारी बैंक केन्द्रित वित्तीय सुधारका पक्षमा अन्य व्यवसायीसँग उनी पटक पटक जुधेका थिए । आफ्नो प्रभावमा बैंकवाट ऋण लिई नतिर्ने सूचीमा खेतान थिएन । 

यसले पनि राजेन्द्र खुलेर वित्तीय क्षेत्र सुधारमा देखा परेका थिए । यसबाहेक व्यवसायीक क्षेत्रका परम्परागत विकृत्तीहरूलाई पनि हटाएर लैजाने पक्षमा राजेन्द्र थिए । त्यसपछि उनी लगत्तै ठगीको आरोपमा नेपाल प्रहरीले खोजीको सूचीमा परे । 

खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान प्रहरीबाट जोगिन भारतको हैदरावादमा लुकेर बस्न बाध्य समेत भए । प्रहरीले खोजी सूचीमा राखेपछि सिंगापुरमा बस्दै आएका खेतानलाई खोजी कार्य तीव्र पारेपछि सिंगापुरमा असुरक्षित महसुस गर्दै भारतको हैदरावादस्थित आफन्तको घरमा बसेका थिए । 

नेपालको चर्चित औद्योगिक घराना खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानलाई ठगीको आरोपमा लुकेर बस्नुपर्ने अवस्था बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको कारण आएको थियो । खेतान नै अध्यक्ष रहेको एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट उनैको कम्पनी हिमालय स्न्याक्सलाई झूटा विवरणको आधारमा दाबी भुक्तानी गरिएको भन्दै समितिले कारबाही अगाडि बढाएपछि उनी फरार भएका थिए । 

एभरेस्ट इन्स्योरेन्स कम्पनीले गैरकानुनी दाबी भुक्तानी र आर्थिक हिनामिनाको आरोपमा कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित व्यवस्थापनका उच्च अधिकारीमाथि कानुनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि राजेन्द्र खेतानको व्यावसायीक पलायन शुरू मात्रै भएन उनी गुमनाम समेत भए । 

एभरेस्टमा खेतान अध्यक्ष रहेको समयमा दाबी भुक्तानी नै गर्नु नपर्ने उनैको कम्पनी हिमालय स्न्याक्स (मायोज चाउचाउ) मा आगलागी भएको भनेर ४ करोड गैरकानुनी दाबी भुक्तानी लिएको आरोप थियो । यस्तै, उधारो बिमा गराएको तर त्यस्तो बिमाको पनि १ करोड १७ लाख रूपैयाँ दाबी भुक्तानी गरिएको थियो । 

खेतान नै अध्यक्ष रहेको हिमालय स्न्याक्स कम्पनीमा २७ असार २०६८ मा आगलागी भएको थियो । सो आगलागीबाट क्षति भएको भन्दै खेतान नै अध्यक्ष रहेको एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट ४ करोड रूपैयाँ दाबी भुक्तानी गरिएको थियो । यसपछि गुमनाम भएका खेतानलाई गृहमन्त्री रामबहादुर थापाले भेट समेत दिएनन् । उनको मुद्धा अहिले सर्वोच्च अदालतबाट फस्र्योट भैसकेको छ ।


Post a Comment

0 Comments