Subscribe Us

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती


लमजुङ, २४ मङ्सिर । मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत सास्ती हुने गरेको छ । उत्तरी लमजुङ हुँदै मनाङसम्म यात्रा गर्ने पदमार्ग बाटो पनि यहीँ पर्छ ।

समेटिएका तत्कालीन ७ गाविसको हवसमेत रहेको बजारमा दैनिक सयौँको आउजाउ हुन्छ । खुदी वारीपारीका भुलभुले, बाहुनडाँडा, ताघ्रिङ, घेर्मुहुँदै मनाङसम्मका मानिस बेसीँशहर आउजाउ गर्ने बाटो यही पुल भएर हो तर, वर्षौंदेखि सञ्चालनमा आएको पुल मर्मतमा भने कसैले चासो नदेखाएका छैनन् ।

पाँच वर्षअघि झोलुङ्गे पुलको जीर्णेद्धारका लागि स्थानीयवासीले आवाज उठाए पनि हालसम्म पुलको अवस्था नाजुक हुँदै गएको छ । स्थानीयवासीको मागअनुसार तत्कालीन जिल्ला विकास समितिले अनुगमन गरी ट्रेलब्रिज सपोर्ट युनिट र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकको टोलीले गरेको स्थलगत अध्ययनले झोलुङ्गे पुल जोखिममा रहेको देखाएको थियो ।

प्रतिवेदनका आधारमा पुलमा आवतजावत गर्न रोक लगाइयो तर, यो नियम धेरै टिकेन पुनः सञ्चालन भयो । अहिले यही जीर्ण पुलबाट आवातजावत हुँदा समस्या भएको अमर मावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेतले दुखेको व्यक्त गर्नुभयो । उहाँका अनुसार पुल मर्मतका लागि कहीँकतैबाट सुनुवाइ नै भएन । जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ ।

पुलको मुख्य लठ्ठा खिया लागेर चुँडिन लागेको छ । बिच्छ्याइएका काठ कुहिएका छन् । झोलुङ्गे पुल कोल्टे बनेको छ । सोही पुल तरेर पैदलयात्रा गर्ने पर्यटकसमेत समस्यामा परेका छन् । हाल पुलमा एक पटकमा एक जनालाई मात्र आवतजावत गर्न दिइएको स्थानीयवासी बताउँछन् । 

Post a Comment

0 Comments