Subscribe Us

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने श्रीमान् श्रीमती पक्राउ


काठमाडौं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा उपहार परेको सूचना दिँदै ठग्ने गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको भेटिएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशी पुरूषसहित नेपाली महिला पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय भएको प्रमाणित भएको हो । उनीहरू श्रीमान् श्रीमती भएको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखाले इमो, फेसबुक, ह्वाट्एप, भाइबर जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ३२ वर्षीया कुसुम कायस्थ र आइभरी कोष्टबाट पर्यटक भिषामा नेपाल आएका ओवोतार अलकाग्नीलाई पक्राउ गरिएको जनाएको छ ।

महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट रु १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौं पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबाट आफू ठगिएको भन्दै आठ जना प्रहरी सम्पर्कमा आइसकेका छन् भने अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी सोमबार दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ । 

Post a Comment

0 Comments