Subscribe Us

यसरी भएको थियो सिक्लेसमा शान्ति प्रक्रियाको सुरुवात


पोखरा, २५,मङ्सिर । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मादी गाउँपालिका–१ सिक्लेसमा सोमबार आयोजित कार्यक्रममा स्मारकको अनावरण गर्नुभएको हो ।

तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस आउनुभएको थियो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो । त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ ।

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो । दुई रोपनी क्षेत्रफलमा पैmलिएको स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी रु १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी दिनुभयो । स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत सञ्चालन गरिएको छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताउनुभयो ।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उहाँले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताउनुभयो । राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष प्रचण्डले औँल्याउनुभयो ।

समारोहमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको बताउनुभयो । काङ्ग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सरकारले निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले ऐतिहासिक तथा पर्यटकीयस्थल सिक्लेसको सडक पूर्वाधार विकासमा जोड दिइनुपर्ने बताउनुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शान्ति प्रक्रियाको ऐतिहासिक महत्व स्मरण गराउने उद्देश्यले स्मारक निर्माण गरिएको जानकारी दिनुभयो ।

Post a Comment

0 Comments