Subscribe Us

राजधानीमा पाकेटमारको बिगबिगी, सांकेतिक भाषाको प्रयोग गरेर पाकेटमारी


– अच्युत रेग्मी

काठमाडौँ, ५ पुस । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ ।

काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो ।

सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई÷दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो ।

“पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो । पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटपाट गर्ने गरेको उहाँको भनाइ छ । परिसरले पकेटमारीसँग हालसम्म रु पाँच लाख ९६ हजार नगद, मोबाइल ३९ थान, आइप्याड चार थान र ल्यापटप पाँच थान बरामद गरेको छ ।

गत मङ्सिर २५ गते कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि काठमाडौँ आउनुभयो । काठमाडौँको पानीपोखरीमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल जान गोङ्गबुस्थित नयाँ बसपार्कबाट कान्तिपुर यातायात चढ्नुभयो । चक्रपथ पुग्दा सात÷आठ जनाको समूहले उहाँको साथको एउटा झोला लियो । उहाँलाई सिटमा बस्न आग्रह गरेर थाहा नपाउने तरिकाले ज्याकेटको अगाडि खल्तीको ७५ हजार पाकेट मारे । यस्तो चोरीको क्रम बढेपछि प्रहरी र यातायात व्यवसायी मिलेर चोरी नियन्त्रण अभियानलाई तिव्रता दिइएको बताइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनभित्र छिरेर चोरी गर्नुका साथसाथै चालक तथा सहचालकलाई समेत लुटपाट गर्ने गरेकाले उक्त अभियान चलाइएको बताउनुहुन्छ । “कमजोर कानूनका कारण पाकेटमाराले पटकपटक सार्वजनिक यातायातमा चढेर चोरी गर्ने गरेको पाइएको छ,” उहाँ भन्नुहुन्छ ।

महासङ्घको प्रदेश नं ३ समितिले यातायात सुरक्षा साझा अभियानअन्तर्गत उपत्यकाभित्रको प्रहरीलाई २५० निःशुल्क यात्रा पासको व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश ३ का संयोजक धर्मराज रिमाल उपत्यकाभित्रको सार्वजनिक यातायातको सुधार गर्न प्रहरीलाई उक्त पासको व्यवस्था गरिएको बताउनुहुन्छ ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटी विभिन्न सडकमा समूह बनाएर पाकेट मार्ने गरेको बताउनुहुन्छ । चक्रपथ क्षेत्रमा काभ्रेपलाञ्चोक दाप्चाका पूर्णबहादुर विक र कान्तिपुर यातायातमा काभ्रेपलाञ्चोक भोक्सेका सनबहादुर तामाङको समूहले पाकेट मार्ने गरेको प्रवक्ता बोगटीले बताउनुभयो । उपत्यकामा चल्ने कान्तिपुर, नेपाल, महानगर, साझा यातायतमा बढी पाकेट मार्ने काम हुने गरेको परिसरले जनाएको छ । पहिलोपटक पाकेट मार्नेलाई एक महीना जेल तथा बिगो बराबरको जरिवना, दोस्रो पटकलाई दुई महीना कैद तथा बिगोबमोजिम जरिवाना हुने कानूनी प्रावधान रहेको छ । 

Post a Comment

0 Comments