Subscribe Us

काँग्रेसले ल्याएको सामाजिक सुरक्षा ऐनलाई सरकारले नयाँ युगको संज्ञा दियो : काँग्रेस नेता धिताल



लमजुङ, १७ मंसीर । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले वर्तमान सरकारले राज्यलाई धार्मिक द्धन्द्धमा धकेल्न खोजेको बताउनुभएको छ ।

नेपाली काँग्रेस मध्यनेपाल–३ सूर्यपालमा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दे नेता धितालले गैरसरकारी संस्थाको धार्मिक कार्यक्रममा सरकार आयोजक हुनुले पनि मुलुकमा धार्मिक द्धन्द्ध निम्तने खतरा पैदा भएको बताउनुभयो । “धार्मिक कार्यक्रममा विभिन्न देशका प्रमुखलाई बोलाएर सडक जाम गरेर जनतालाई दुःख दिने काम भएको छ,”–उहाँले भन्नुभयो ।

नेता धितालले मुलुकमा दिनहुँ हत्या, हिंशा र बलात्कारका घटना हुँदा पनि सरकार मौन बस्नुले अपराधलाई प्रश्रय दिएको हो की भन्ने जनतामा भान भएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसको नेतृत्वको सरकारका पालामा ल्याएको सामाजिक सुरक्षा ऐनलाई नयाँ युगको संज्ञा दिनु गलत भएको भन्दै उहाँले भन्नुभयो, “एक दशकमा कति पटक नयाँ युग आउँछ ?”

नेता धितालले सिङ्गो काँग्रेस एक भएर अगाडि बढेमात्र आगामी निर्वाचनमा विजयी हुने बताउनुभयो । उहाँले आगामी नेविसंघको जिल्ला निर्वाचनमा संगठन हाँक्ने खालको नेतृत्वलाई अगाडि बढाउनसमेत निर्देशन दिनुभयो ।

काँग्रेस मध्यनेपाल–३ का अध्यक्ष सन्तनारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तरुण दल लमजुङका सदस्य केशव न्यौपानेले काँग्रेसले युवालाई अगाडि बढाएमात्र सफल हुने बताउनुभएको थियो ।

Post a Comment

0 Comments