Subscribe Us

एक करोड ७५ लाखमा निर्मित विद्यालय सांसद आचार्यद्धारा हस्तान्तरण


रसुवा, २६ मङ्सिर । रसुवाको नौकुण्ड गाउँपालिका–३ मा रहेको दुप्चेश्वरी आधारभूत विद्यालयको हस्तान्तरण गरिएको छ ।

विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेपछि गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एसिया अनलुस र कृषिवन प्रतिष्ठानको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त  विद्यालय सोमबार हस्तान्तरण गरिएको हो ।

नौकुण्ड गाउँपालिका–३ भञ्ज्याङडाँडामा आयोजित कार्यक्रममा रसुवाका सांसद मोहन आचार्यले नवनिर्मित विद्यालयको उद्घाटन तथा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सांसद आचार्यले देश विकासका लागि शैक्षिक जनशक्तिको आवश्यकता रहेको भन्दै गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयो । गुणस्तरीय शिक्षामा समान पहुँच कुनै पनि देशको समग्र विकासका लागि मात्र होइन हरेक नागरिकको समानताका लागि पनि महत्वपूर्ण पक्षका रुपमा रहेको उहाँको भनाई थियो ।

सांसद आचार्यले आफु समृद्ध रसुवा निर्माणका लागी क्रियाशिल रहेको भन्दै निर्वाचनका क्रममा गरेका प्रतिवद्धता पुरा गर्न लागिपरेको बताउनुभयो । प्रदेश सांसद प्रेम तामाङले रसुवाको शिक्षा क्षेत्रको विकासका लागि विदेशी संस्थाले विद्यालय बनाएर राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

प्रदेश सांसद प्रभात तामाङले शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग भएको बताउँदै अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएको बताउनुभयो ।

विद्यालयका प्राचार्य दावा तामाङले विद्यालयलाई नयाँ भवन सहित सहायता सामग्री प्राप्त भएकाले शिक्षकरुमा मनोबल वृद्धि हुनाका साथै विद्यार्थीमा पनि पठ्न उत्साह बढेको बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति भएपछि विद्यार्थीहरु अस्थायी टहरामा बसेर पठ्न बाध्य थिए । कुल रु एक करोड ७५ लाख रुपैँयाको आर्थिक लगानीमा निर्माण दश कोठे भवनमा हाल २४८ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयलाई आवश्यक शौचालय, सोलार बत्ती, फर्निचरसमेत सोही संस्थाले उपलब्ध गराएको छ । यसैगरी सोही संस्थाको सहयोगमा नौकुण्ड गाउँपालिका–४ मा रु ७५ लाख लगानीमा निर्माण गरीएको नमूना प्राथमिक विद्यालय पनि सोमबारै हस्तान्तरण गरिएको छ । सो संस्थाले हालसम्म रसुवामा चारवटा विद्यालय पुननिर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

Post a Comment

0 Comments