Subscribe Us

म्याग्दीमा स्वास्थ्यचौकी निर्माण


म्याग्दी, २१ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमो सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपर्ने समस्या हटेको छ ।

हाल वडा कार्यालय रहेको तत्कालीन नारच्याङ गाविसको भवनका दुई कोठामा स्वास्थयचौकी सञ्चालन हुँदै आएकामा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको हो ।

बिरामीले गोप्य कोठाको अभावमा आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्ने अवस्था थियो तर अहिले छुट्टाछुट्टै कार्यकक्षसहितको भवन भएपछि खुलेर आफ्नो समस्या व्यक्त गर्न पाइएको स्थानीयवासी हुममाया गर्बुजा पुनले बताउनुभयो ।

छकोठे एकतले नयाँ भवनमा ओपीडी, गर्भजाँच, भण्डारण, डे«सिङ, प्रशासन, बिरामी भर्ना र निर्मलीकरण गर्ने कक्ष छन् । प्रसूति सेवा पनि सञ्चालन गर्ने तयारी भएको स्वास्थ्यचौकी प्रमुख अर्जुन रानाले जानकारी गराउनुभयो । अनमी सनम गर्बुजाका अनुसार भवन अभावमा प्रसूति सेवा उपलब्ध गराउन नसक्दा महिला प्रसूति सेवाका लागि भुरुङ–तातोपानी र बेनी पुग्ने गरेका थिए ।

पोखरास्थित लायन्स क्लब अन्नपूर्णको रु ३६ लाखको सहयोगमा स्वास्थ्यचौकी निर्माण गरिएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । क्लबले अमेरिका–नेपाल मेडिकल फाउण्डेशनमार्फत भवन बनाउन सहयोग जुटाएको जनाएको छ ।

स्वास्थ्यचौकी निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करीब रु नौ लाख खर्च गरेर तीन रोपनी जग्गा खरिद गरेकामा अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ रु पाँच लाख उपलब्ध गराएर जग्गा सम्याइएको थियो । 

Post a Comment

0 Comments