Subscribe Us

रारा तालमा साइकल मार्ग


मुगु, २४ मङ्सिर । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ ।

रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् ।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यही क्षेत्रफललाई परिक्रमा गरी यहाँको प्राकृतिक सैन्दर्य लिन चाहने पर्यटकलाई लक्षित गरिएको उक्त परियोजना शुरु गर्न करिब रु तीन करोड विनियोजन गरिएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
प्रदेशले छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार गरी आगामी फागुनभित्र कार्य शुरु गर्ने लक्ष राखेको छ । असार मसान्तभित्रमा उक्त परियोजना सम्पन्न गरिने छ । प्राकृतिक सौन्दर्यलाई यथावत राखिने उक्त मार्ग तयार गर्ने क्रममा ढुङ्गाको ग्राभेल गरिने छ भने निकुञ्जभित्रका वन्यजन्तुको संरक्षणका लागि पिच गरिने छैन ।

समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराको गहिराइ १६७ मिटर छ । मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब तीन घण्टाको पैदलयात्रामा रारा ताल पुग्न सकिन्छ । प्रदेश सरकारले पर्यटन उद्योगमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना अघि सारेको छ ।

विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना गर्ने क्रममा रारा गाउँ र छाप्री गाउँ हटाइएको थियो । निकुञ्जको भित्री क्षेत्रमा परेका ती दुई गाउँका स्थानीयलाई कोहलपुरमा एकीकृतरूपमा बस्ती व्यवस्थापन गरिएको थियो । विसं २०३५ देखि सेनाले निकुञ्जको सुरक्षा दिँदै आएको छ ।

मुलुकका विभिन्न २२ निकुञ्जमध्ये उक्त निकुञ्ज क्षेत्रफलका हिसाबले सबैभन्दा सानो मानिन्छ । तालभित्रको निलो र सफा पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित र आकर्षित बनाउँछ ।

मुलुकमा रहेका विभिन्न पर्यटकीयस्थललाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले न्यू आर्ट समिट ट्राभल एण्ड टुर्स प्रालिले स्थानीय तहका सरोकार पक्षसँग समन्वय गरी विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

उक्त संस्थाले स्थानीय मिलीचौरदेखि करिब ४ किलोमिटरको दुरी रहेको हुटुसम्मको रारा पदमार्ग सरसफाइ गरी हालै ३२ वटा फोहोर सङ्कलन गर्ने भाँडो ९डस्टबिन० उपलब्ध गराएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएपछि डस्टबिनको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्न स्थानीय तहमा उत्पादन भएका फोहरको व्यवस्थापन चुनौती बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुकको गौरव बोकेको पर्यटकस्थल भएको भए पनि त्यसको संरक्षण तथा प्रचारको अभावमा विकास हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

विगतमा सडक सञ्जाल नभएका कारण हवाइ मार्ग भइ पर्यटक आउनुपर्ने बाध्यता थियो । केही वर्षयता कालीकोटदेखि मुगुसम्मको सडक जोडिएपछि अहिले पर्यटक पनि बढदै गएको निकुञ्जले जनाएको छ । गत वैशाख १ गते कर्णाली प्रदेशले ‘कर्णाली रारा भ्रमण वर्ष’ को अवधारणा ल्याएपछि यहाँ पर्यटकको आकर्षण तथा यसको विकासले तीव्रता पाउन थालेको छ ।

उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही स्थान पुगेर नागरिकलाई सम्बोधन गरेपछि अहिले सात महिनाको अवधिभित्र करिब ५० हजार पर्यटकले भमण गरिसकेका छन् । अघिल्लो वर्षको यस अवधिमा करिब ३० हजार पर्यटक सहभागी भएको निकुञ्जले जनाएको छ । 

Post a Comment

0 Comments