Subscribe Us

महिला क्रिकेट सिरिज दाङको कब्जामा


नारायणपुर, २४ मङ्सिर । कपिलवस्तु र दाङका बीचमा भएको क्रिकेट सिरिजमा दाङले कब्जा जमाएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीस्वरुप दाङको घोराहीस्थित गुलरिया खेल मैदानमा भएको महिला सिरिजमा दाङले आफ्नो कब्जा जमाएको हो ।

सिरिजअन्तर्गतका दुवै खेलमा दाङले फराकिलो जित हात पारेको छ । दाङ र कपिलवस्तुको निर्भना क्रिकेट एकाडेमीबीच भएको दोस्रो खेलमा दाङले १३८ रनको विशाल अन्तरले कपिलवस्तुलाई पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको दाङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०० रनको योगफल तयार पारेको थियो । दाङकोतर्फबाट लक्ष्मी चौधरीले ३६, नगिता पुनले ३०, मञ्जु चौधरीले २३, सरस्वती जिएमले १९ र कमला जिएमले १६ रन जोड्नुभएको थियो । बलिङतर्फ कपिलवस्तुका तिर्सना बुढा मगरले ३, ललिता बुढा मगरले २ र कविता खड्काले १ विकेट लिनुभएको थियो ।

दुई सय १ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको कपिलवस्तुको निर्भना एकेडेमी ६२ रनमा समेटिएको थियो । जसमा गीता आलेले १३, राम रोशनी चौधरीले ८ र आशिका हमालले ५ रन जोड्नुभएको थियो । कपिलवस्तुलाई सस्तैमा समेट्ने क्रममा दाङको तर्फबाट रविना चौधरीले ३, नगिता पुनले ३ र समीक्षा भण्डारीले १ विकेट लिनुभएको थियो ।

खेलमा उत्कृष्ट ३० रन जोड्दै ३ विकेट लिन सफल दाङका नगिता पुनलाई घोषित ‘प्लेयर अफ दि म्याच’ घोषणा गरिएको थियो । यसपूर्व भएको पहिलो खेलमा दाङले कपिलवस्तुलाई १ सय ६१ रनको विशाल अन्तरले हराएको थियो । 

Post a Comment

0 Comments