Subscribe Us

सात स्थानीय तह एम्बुलेन्सविहीन


बैतडी, ३ पुस । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरीद नगरेको जनाएका छन् ।

मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका एम्बुलेन्सविहीन छन् । मेलौली नगरपालिकाले एम्बुलेन्स खरीद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरीद गर्नको लागि बोलपत्र आह्वान गरिसकेको छ । निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैँले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यस्तै शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिनुभयो । सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडामा सडक सुविधा नपुगेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरीद गरिने जनाएका छन् । सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता छ । विशेषज्ञ चिकित्सकको सेवा लिन तथा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम तथा रेफर गर्नुपरेमा एम्बुलेन्सको अभावले झन मारमा परेका छन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भने एम्बुलेन्स सेवा सञ्चालनमा छ ।

दशरथचन्द नगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय र वडा नं २ मा रहेको देहीमाडौँ स्वास्थ्य चौकीमा एम्बुलेन्स सञ्चालनमा रहेको प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाटनमा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स सेवा छ । पुर्चौडी नगरपालिकाले केही दिन अघिदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताउनुभयो । 

Post a Comment

0 Comments