Subscribe Us

केन्द्रीय कारागारभित्र ३० शैय्याको अस्पताल


काठमाडौं । केन्द्रीय कारागारमा ३० शैय्याको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो कारागार मानिएको केन्द्रीय कारागारमा सन् २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरू गरिएको थियो । त्यसपछि कैदीहरूको संख्या बढ्दै जान थालेकोपछि कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी सेवा गरिरहको थियो । सोही भवनमा २०७० साउन २८ देखि १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो ।
अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न शैय्या थप गरिएको हो । दशौं तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ”, उनले भनिन् । हाल तीस शैय्याको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञले उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय कारागारमा हाल दुई हजार ८ सय कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटै कारागारमा कैदीबन्दी राख्ने क्षमता जम्मा एक हजार ५ सय रहेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउँछन् ।  पन्ध्र शैय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० शैय्याको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको छ ।

कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ । रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, उनले भने ।

कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो ।

दैनिक ८० देखि १ सय बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४ सय ७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ । आव २०७४/७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो । केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ । 

Post a Comment

0 Comments