Subscribe Us

आईएपासलाई डिएसपी चाहिएपछि

काठमाडौं । नेपाल प्रहरीमा नियमावली संशोधनपछि बढुवाको बाटो खुलेको छ । प्रहरीमा डीआइजी १, एसएसपी १५ र एसपी ३१ वटा पद रिक्त छन् । 

नियमावली संशोधनपछि अब प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मको बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ ।

 अहिले रिक्त ६५ डीएसपी पदको बढुवामा आईए मात्र पास इन्स्पेक्टरहरु बढुवाको दौडमा नेताका घर घरमा धाउन थालेका छन् । आईए पासमात्र भएका इन्स्पेक्टरहरु प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव बिष्णु पौडेलदेखि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासम्मको पावर लगाउँदै बढुवाको लिगलिगे दौडमा छन् । 

यीमध्ये कतिपयले त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाम समेत बदनाम गर्दै बढुवा हुन खोजिरहेको स्रोतले बताएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको नाम समेत कतिपयले लिने गरेका छन् ।

स्नातक पास गरेका तर कारबाहीमा परेका इन्स्पेक्टरहरु पनि बढुवाको दौडमा छन् । कारबाहीमा परेकाहरु पनि जनजातिकाले जनजाति मूलकै संचारकर्मीदेखि नेता र अरु जातका पनि नेतादेखि गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईको नाम लिंदै बढुवाको लबिङमा लागेका छन् ।

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपका कारण आइए पास भएकाहरुलाई इन्स्पेक्टर र डीएसपी बनाउने खेल विगतमा कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि भएको थियो । सिटौला गृहमन्त्री हुँदा उनका नातेदार सई रुद्र चुडाल लाई आइए मात्र पास भए पनि इन्स्पेक्टर बढुवा गर्न तत्कालीन आइजीपी ओमविक्रम राणालाई चर्को दबाब दिइएको थियो । 

राणाले संगठनको प्रचलन विपरीत चुडाललाई बढुवा गर्दा चन्द्रसिंह लामा, महेन्द्र थापा, शिव बस्नेत लगायतका आइए पास सईहरु पनि इन्स्पेक्टर बढुवा भए, आजको साँघु साप्ताहिकमा समाचार छ । एक ब्यक्तिका लागि नीति विपरीत बढुवा गर्न खोज्दा प्रहरी संगठनभित्र नैराश्यता समेत प्रकट गर्नसक्ने कुरामा गृहमन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ ।

Post a Comment

0 Comments