Subscribe Us

बम दिदी बहिनीलाई मानवअधिकारकर्मीको धम्की

काठमाडौं । निर्मला हत्याकाण्डमा दोषीको आरोप लागेका कञ्चनपुरका दिदीबहिनी बबिता बम र रोशनी बम धनगढीमा आफूहरुलाई केही मानवअधिकारकर्मीले धम्की दिइरहेको बताएका छन् । उनीहरूलाई मानवअधिकारकर्मीले फोेनबाट बारम्बार धम्की दिइरहेको बताएका हुन् । लगातारको धम्कीपछि न्याय खाेज्दै राजधानी आउँदा पनि असुरक्षित महसुस गरिरहेको उनीहरूले बताएका छन् ।  उनीहरुलाई राजधानीमा पनि अपरिचित मान्छेहरुले पिछा गरिरहेको बताएका छन् ।

उनीहरुले आफूलाई मानवअधिकारकर्मी भन्ने मीना भण्डारी र शारदा चन्दले फोनमा धम्की दिइरहेको बताएका छन् । ‘अहिलेसम्म हाम्रो घरमा एकपटक पनि आएका छैनन्, तिनीहरुले हामीलाई अपराधी भनेका छन्, अपराधी भएको भए नेपाल सरकारले कारबाही गर्नुपर्यो, मानवअधिकारकर्मी जे मन लाग्यो त्यो भन्ने होइन’, उनीहरुले भनेका छन् ।

उनीहरुले निर्मलाको हत्यारा जसरी पनि पत्ता लगाउनुपर्ने माग राखेका छन् । निर्मलाको हत्यारा पत्ता नलागेसम्म हामी पनि असुरक्षित भयौं, त्यसैले जसरी पनि बास्तविक हत्यारालाई कानुनको कठघरामा ल्याउनुपर्ने बताए । उनीहरुले निर्मलाको आमाका साथै आफूहरुलाई पनि न्याय दिइनुपर्ने माग गरे ।

मानवअधिकारकर्मीलाई कसैको पनि चरित्र हत्या गर्ने अधिकार नभएको भन्दै उनीहरुले आफूहरुलाई न्याय दिलाइदिन माग गरेका छन् । ‘एउटा मरेकी निर्मलाको न्याय खोज्ने बहानामा दुई जिउँदा निर्मलाको चरित्रहत्या गर्नु हुँदैन,’ उनीहरुले भनेका छन् । नेपाल मानवअधिकार संगठनले असोज १० गते स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनले आफूहरुको चरित्र हत्याको सुरुवात गरेको बताए । सो क्रममा मिडियाप्रति पनि आक्रामक देखिएका दिदीबहिनीले मिडियाले पनि बुझेर लेख्नुपर्ने बताए । मीना भण्डारी र शारदा चन्दलाई मात्र स्थानीय बनाएर मिडियाले पनि सतही समाचार लेखेको उनीहरुले बताए । 

निर्मलाको हत्या भएको दिनदेखि स्कुल समेत जाने अवस्थामा नभएका दिदी बहिनीले आफूहरुको पढाईमा पनि पूर्ण असर परेको बताएका छन् । साउन ९ गते उनीहरुकै घरमा पढ्न भनी गएकी निर्मलाको साउन १० गते शब भेटिएको थियो । निर्मलाको सो हत्यामा बम दिदीबहिनीको संलग्नता रहेको भन्दै विभिन्न मानवअधिकार संगठनको प्रतिवेदन एवं सामाजिक सञ्जालमा दाबी गरिए पनि प्रहरी अनुसन्धानमा हालसम्म उनीहरुको संलग्नता भने देखिएको छैन ।

Post a Comment

0 Comments