Subscribe Us

भ्रुण हत्या रोक्न गाउँपालिकाको अभियान, गाउँपालिकाले दिने भयो छोरीलाइ ५ हजार

चितवन । लिंग पहिचान गरी भ्रुण हत्या गर्ने क्रमलाई रोक्नको लागि गाउँपालिकाले अभियान चलाएकको छ । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको हो । गाउँपालिकाले एक जना बालिकाको खातामा ५ हजार रुपैयाँ जम्मा गरी अभिभावकलाई समेत कम्तिमा ५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गर्दै सो अभियान सुरु गर्न लागेको बताएको छ ।

गाउँपालिका प्रमुख गीता गुरुङका अनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको गाउँपालिका प्रमुख गुरुङले बताइन् ।

सो गाउँपालिकामा जनसंख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् । ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् ।

हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् ।

Post a Comment

0 Comments