Subscribe Us

९ लागुऔषध कारोबारीविरूद्ध मुद्दा दायर


काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिइ गएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने २ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । त्यसअघि पक्राउ परेका अन्य ७ जना गरी जम्मा ९ जनालाई मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरीले ५० पत्ता (७५० चक्की) झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका७ स्थित मङ्गलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ । 

प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट सो लागुऔषध प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको बताए । यस्तै बनेपास्थित इलाका प्रहरी कार्यालयले पनि विभिन्न मितिमा नाइट्राभेट लागुऔषधसहित सातलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार यही पुस १३ गते र १७ गते बनेपाका विभिन्न स्थानबाट कारोवार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । सातजनाबाट नाइट्राभेट १७० पत्ता (२५५० चक्की) बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
चालू आवको पुस तेस्रो हप्तासम्म १० वटा लागुऔषध कारोवार घटनामा १४ र गत आवमा १२ वटा लागुऔषध कारोवार घटनामा १६ लाई लागुऔषधसम्बन्धी मुद्दा चलाइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments