Subscribe Us

सिन्धुलीका सुपरिटेन्डेन्टलाई सुनकोसीमा सुनैसुन !


क्रसरबाट मात्रै मासिक ९ लाख असुल

काठमाडौं । सिन्धुली जिल्ला प्रहरीका प्रमूख रामेश्वर प्रसाद यादवले सुनकोसी किनारमा रहेका नौ वटा क्रसर उद्योगबाट महिनाको नौ लाख रुपैयाँ बुझ्ने गरेका छन् । गत जेठमा बन्द भएका सिन्धुलीको सुनकोसी किनारामा सञ्चालित अवैध क्रसरहरू पुन सञ्चालनमा ल्याउन एसपी यादबले प्रत्येक क्रसरबाट महिनाको लाख पाउने सहमती भएपछि आँखा चिम्लिएको स्रोतको दाबी छ ।

सुनकोसी नदी अत्यधिक दोहन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले क्रसरलाई छानबिन गर्न भन्दै कागजपत्र समेत मगाएर बन्द गरेको थियो । नदीको एक किलोमिटरभित्र खोलिएका क्रसर कानुन बमोजिम अबैध ठहर हुन्छन् । तर सुनकोसी गाउँपालिका अन्र्तगत रहेका व्यवसायीहरूले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन् गरी दोहन गर्न थालेपछि केही स्थानीयले पटकपटक विरोध गर्दै अख्तियार कार्यालयमा समेत छानविनका लागि उजुरी दर्ता गराएका थिए । त्यसलाई बेवास्था गर्दे एसपी यादवले मोटो रकमको चलखेलपछि पुन सञ्चालनमा ल्याएको आरोप स्थानीय बताउँछन् ।

सात गाउँपालिकामै क्रसर उद्योग सञ्चालनमा आएका छन् । सुनकोसी र मरिन गाउँपालिकामा बन्द भएका उद्योगलाई पनि प्रहरीकै मिलेमतोमा सञ्चालनमा आएका हुन् । त्यस्तै फिक्कल गाउँपालिकामा पनि ६ वटा उद्योगहरू सञ्चालनमा छन् । ती सबै उद्योगहरूले जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमूखलाई नजरना बुझाउने गरेका छन् । त्यस्तै एसपी यादवले जिल्लामा उद्योग वाणिज्य संघमार्फत हुने विभिन्न महोत्सवहरूमा पैसा असुल्ने गरेका छन् । स्रोतका अनुसार जिल्लाभर चार वटा क्रसर उद्योगले मात्रै कानुनी रुपमा खानी सञ्चालन गर्न पाउछन् । जिल्लाका रहेका अन्य उद्योगले भने बालुवा प्रशोधनका नाममा दर्ता गरेर क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।

नदीमा जथाभावी ठूला खाल्डा पार्ने तथा नदीको धारनै परिवर्तन हुने गरी जथाभावी उत्खनन् गर्दा नदीको सुन्दरता खुम्चदै गएको छ । सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन् गर्ने गरेका छन् । त्यसमा प्रहरी सधै मुख टाल्ने गरिएको व्यावसायीहरूले जनाएका छन् । स्थानीय तहको निर्वाचन भइ जनप्रतिनिधि आएको एक वर्षमै सुनकोसी तहस नहस भएको स्थानीय बताउँछन् । यही रफ्तारमा उत्खनन् भइरहेमा आगामी केही वर्षमै सुनकोसीको पानी समेत सुक्न सक्ने स्थायनीयहरू बताउँछन् ।

उनीहरूका अनुसार नदीले धारनै परिवर्तन गर्न थालेको छ । जथाभावी उत्खनन् हुन थालेपछि केही स्थानीयले त्यसको विरोध गर्दै आएका छन् । प्रहरीले नसुन्दा व्यावसायीको दादागिरी चल्न छाडेको छैन । सुनकोसीबाट ढुंगा, गिट्टी बालुवा निकाल्ने बाहनामा चरम दोहन जारी छ ।

विपी राजमार्गको छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसरले दैनिक व्यापक मात्रामा उत्खनन् गर्दा बीचका भागमा ठूला खाल्डा भइसकेका छन् । नदी क्षेत्रबाट ढुंगा, गिट्टी बालुवा, उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको भए पनि पालना नभएको स्थानीय बताउँछन् । एसपी यादवका गतिविधिहरू शंकास्पद रहेपछि प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको थियो । जिल्ला प्रहरी कार्यालय सम्हालेको ७ महिनामै उनी निगरानीमा परेका थिए ।

गृहमन्त्रालयको दबाबमा जिल्ला प्रहरी कार्यालय प्रमूख भएर गएका यादवका पछिल्ला गतिविधि शंकास्पद रहेको भन्दै उजुरी छानवीन शाखामा उनीविरुद्ध जाहेरी थियो । यादवलाई गाँजा तस्करीलाई नियन्त्रण गर्न नसकेको तपस्वी रामबहादुर बमजनको आश्रममा अनुसन्धान गर्न नसकेको जस्ता विषयलाई लिएर सिन्धुलीका बुद्धिजीवीहरूले प्रहरी प्रधान कार्यालयमा उजुरी गरेपछि उनीमाथि निगरानी बढेको थियो ।

अहिले उनी क्रसर व्यावसायीहरूसँग माथि पनि बुझाउनु पर्छ भन्दै असुली गर्न व्यस्त छन् । सरकारले यसअघि २०७० सालमा नदी क्षेत्र नजिकका क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्ड बनाएको थियो । मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरूले नदीजन्य पदार्थको अवैध निकासी तथा उत्खनन् बढाए पनि यसको नियन्त्रणका लागि सरकारले ती व्यवसायी माथि कानुनी कारबाही गर्न सकेको छैन भने पैसा असुल्ने प्रहरीलाई पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

वन तथा वातावरण मन्त्रालयले ढुङ्गा, गिटी, बालुवाको जथाभावी निकासीमा कडाइ गर्न सम्बन्धित निकायलाई पटकपटक निर्देशन दिए पनि नदीजन्य पदार्थको अवैध निकासी र उत्खनन् रोक्न निर्देशिका र कार्यविधि जारी गर्न नसक्दा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको अवैद्य उत्खनन् गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको हो । जथाभावी उत्खनन् र नदीछेउमा खुलेका क्रसर उद्योगले जैवीक विविधतामा असर पु¥याएको, प्राकृतिक स्रोत साधनको दोहन गरेको, नदीजन्य पदार्थको उत्खनन्ले खोलाको गहिराइ बढाएको पाए पछि सरकारले २०७० सालमा नदीबाट क्रसर उद्योग रहने सीमाक्षेत्र तोकेको थियो ।

Post a Comment

0 Comments