खाजाघर पछाडी जमीनमुनि लुकाइएको लागुऔषध बरामद

बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रमा लागुऔषध बरामद गरेको छ । बागलुङ नगरपालिका४ उपल्लाचौरस्थित विजय खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियो ।

उक्त खाजाघर बागलुङ१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको भएको बताइएको छ । सञ्चालिका कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेको सूचनाको अाधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । कुँवरले तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई/दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

Post a Comment

 
Top