Subscribe Us

साँखुको अवैध भट्टीमा प्रहरी छापा, हजारौँ लिटर मदिरा बरामद


काठमाडौं । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त बौद्धले साँखु क्षेत्रस्थित अवैध मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेको छ । 

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले उक्त क्षेत्रका भट्टीमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरिएको बताए । अवैध मदिरा उत्पादन तथा विक्री वितरणले विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो । 

प्रहरीले गोकर्णेश्वर नगरपालिका६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको प्रहरी नायव उपरीक्षक चन्दले बताए । छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको उनले जानकारी दिए । 

प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । यसअघि पनि वृत्तले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्थानहरूमा पटक पटक छापा मार्दै हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरेको थियो । 


Post a Comment

0 Comments