Subscribe Us

गाँजा नष्ट गर्ने प्रहरी बिरामी भएपछि हेटाैंडाबाट थप प्रहरी माग


३७ बिघाको गाँजा नष्ट 

सिन्धुली सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान अन्तर्गत मरिण र हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले अहिलेसम्म ३७ बिघाको गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार उक्त क्षेत्रमा ५४ प्रहरीले गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको जानकारी दिए । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । 

गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो । अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हेटाैंडाबाट थप २५ प्रहरी टोली माग गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ । 

Post a Comment

0 Comments