Subscribe Us

प्रहरीले गरेका राम्रा काम पनि बाहिर ल्याउनुस्ः डीआईजी थापा


भक्तपुर । प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका३ बा
लकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रहरीले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कुनै हालतमा चुक्न नहुने बताउँदै प्रहरीले गरेका राम्रा र उपलब्धिमूलक काम छायाँमा परेको बताए । 

उक्त अवसरमा क्षेत्रीले निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाएरै छाड्ने बताए । उनले भने, निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन हरेक प्रयास गरिरहेको छ, निर्मला प्रकरणमा मिडियाले धेरै उचाल्यो, प्रहरीको छवि बिग्रने गरी समाचार आइरहे तर प्रहरीले गरेको राम्रो कामलाई सञ्चार माध्यमले बाहिर ल्याएनन्, त्यसैले प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुस् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रहरीबाट आम नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूति चाहने बताउँदै प्रहरीले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले दुई रोपनी छ आना दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त साढे दुई तल्लाको दुई वटा भवनमध्ये एउटामा कार्यालय प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला प्रहरी कर्मचारीका लागि सुविधा युक्त व्यारेक, महिला तथा बालबालिका सेल, महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको र अर्को भवनमा भान्छाघर एवं प्रहरी कर्मचारीको व्यारेक रहेको बताए । 

प्रभाग कार्यालय रहने उक्त भवनमा ब्यारेक तथा भान्साघरसहित १९ कोठा रहेका छन् । करिब दुई करोड २६ लाख रूपैयाँको लागतमा उक्त भवनमा निर्माण भएको थियो ।

बालकोट प्रभागका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक सुरेश केसीले प्रहरी प्रधान कार्यालयले जग्गा खरीद गरी सो भवन निर्माण गरेको बताए । प्रहरी नायब उपरीक्षक एवं इञ्जिनीयर ईश्वर थापाले नवनिर्मित भवन सरकारले लागू गरेको भवन आचार संहिताअनुरुपको भूकम्प प्रतिरोधी भएको जानकारी दिए ।

Post a Comment

0 Comments