Subscribe Us

उपत्यकाभित्रका २ सय १२ प्रहरीलाई कारबाही


काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । विगतमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो । 

महानगरीय ट्राफिक प्रहरीका अनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३ सय १२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कारवाही हुनेमा २ सय १२ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।  पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १ सय ४९ र प्रहरी कार्यालय सहयोगी तीन जना रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँछिन् । घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने,  उत्कृष्ट प्रशिक्षक,  उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ”, उनले भनिन् ।

यस्तै कारवाही पर्नेमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी नायब निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १३६ र प्रहरी कार्यालय सहयोगी चार जना रहेका छन् ।  कारवाही परेकामा नशिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठ जना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र शुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ ।

प्रहरीले मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ । ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ । कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री एक/ दुईजना प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कारवाहीको अभियान सञ्चालन गरेको बताउँछन् । राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ”,  उनी भन्छन् ।

काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । काठमाडौँ उपत्यकाभित्र ११ हजार ३१९ प्रहरीको दरबन्दी भएपनि हाल झण्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् । 

Post a Comment

0 Comments