Subscribe Us

लाजिम्पाटबाट २१ किलो अवैध लागूऔषध सहित चारजना पक्राउ


काठमाडौं  महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२ लाजिम्पाट निल सरस्वतीथानबाट करिब २१ केजी अवैध लागूऔषध चरेश सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-११ का २६ वर्षीय राम कुमार मोक्तान, काठमाडौं नैकाप बस्ने २५ वर्षीय रमेश कुमार मोक्तान, काठमाडौं नैकाप बस्ने २५ वर्षीय सुकराम गोले र काठमाडौं महानगरपालिका-१४ बस्ने २४ वर्षीय राजेन्द्र गोले रहेका छन् । लाजिम्पाट एरियामा लागूऔषध विक्रि वितरण तथा ओसार पसार हुँदैछ भन्ने विशेष सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अबस्थामा फेला पारी जाँच गर्दा चरेश जस्तो देखिने वस्तु सहित पक्राउ गरेको हो । 

त्यस्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी डेरा गरी बस्ने रामेछाप घर बताउने ३२ वर्षीय सुजन मगरलाई नियन्त्रित लागूऔषध फेनारगन, नुर्फिन र डाईजेल्याप गरी करिब  ४१ एम्पुल, बिभिन्न कम्पनीका मोबाईल सेट १८ थान र बिभिन्न कार्यालय, बिद्यालय तथा संघ संस्थाहरुका छाप १ सय ८९ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले मगरको कोठा  खानतलासी गर्दा उक्त लागूऔषध तथा विभिन्न कागजातहरु फेला पारी पक्राउ गरेको हो । साथै उक्त छापहरु बनाएको अभियोगमा मगरकै भाई २७ वर्षीय सुरेश मगरले समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments