Subscribe Us

पिएसओलाई नै बढुवा-सरुवामा प्राथमिकता दिँदै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीमा प्रायः सरुवा र बढुवामा राजनीतिक दलको सुरक्षामा खटिने अंगरक्षकले पहिलो प्राथमिकता पाउने गरेका छन् । यो प्रहरीको सरुवा र बढुवाले पुष्टी गर्दै आएको छ । गत शनिवार डिएसपी सिफारिस भएका ६४ ईन्स्पेक्टरमध्ये पहिलो नम्बरमा प्रधानमन्त्रीका अंगरक्षक हरि खतिवडा परेका छन् । यस अघि भएको डिएसपीबाट एसपी बढुवामा पनि प्रधानमन्त्रीकै अंगरक्षक सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका थिए भने त्यसताका पनि राम्रा प्रहरी अधिकृत रमेश बस्नेतलगायत छुटेका थिए । बस्नेत गत साता भएका डिएसपी बढुवाबाट एसपी भएका छन् । विगतदेखि नै प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु बढुवा र सरुवाको पसहलो प्राथमिकतामा पर्दै आएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेपछि दुई तिहाईको सरकार र आशालाग्दा आईजी भएपनि प्रहरीभित्र निरासा भने छाएको छ ।

दरवारमार्ग वृत्तमा कार्यरत डिएसपी दानबहादुर मल्ल प्रचण्डको पिएसोका रुपमा कार्यरत थिए । प्रचण्डकै दबाबमा उनलाई एसपीमा बढुवा गरियो । दरबारमार्गमा बदनाम कमाएका मल्ल एसपीको बढुवासँगै पर्सा वा चितवनको कमाण्ड गर्ने तयारीमा छन् । दरबारमार्ग वृत्तमा भएजति ठमेल र दरबारमार्गका गुण्डा भेला गराएर रात्रीभोज गराउने मल्ल बढुवासँगै पाएसम्म पर्सा नपाए चितवनको कमाण्ड लिन प्रचण्डको चाकडीमा रहेको स्रोत बताउँछ ।

डिएसपीबाट एसपी बढुवामा पनि नेताहरुकै सोर्समा गृहमन्त्रालयलको दवाबमा बढुवा भएका छन् । नेपाली कांग्रेसनिकट रहेको आरोप लगाउँदै दुई बर्ष सिनियर ७ डिएसपीलाई छाडेर ५८ सालको टोलीलाई बढुवा दिएको छ । जसको कारण प्रहरीको चेनअफ कमाण्डमा समेत ठूलो असर पर्ने देखिन्छ । उता दुई साता अगाडी बढुवा भएको एसएसपीमा ठूलै चलखेल भएको देखिन्छ । जुनियर एसपी दिपक थापालाई बढुवा गर्नका लागि प्रहरी ऐन नै संसोधन गरिएको थियो । नेकपाको अध्यक्ष प्रचण्डको दबाबमा थापालाई बढुवा गर्न ऐन संसोधन गरिएको थियो । उनी बढुवा मात्र भएनन् अघिल्लो टोलीलाई नै उछिनेर ६ नम्बरमा बढुवा हुन सफल भए ।

एक नम्बरमा बढुवा भएका भनिएका एसएसपी सन्दीप भण्डारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय दुवैतिरको आर्शिवाद पाएका थिए । दीपक थापा, भीम ढकालहरु पनि आशिर्वादमै बढुवा हुँदा नरेन्द्र उप्रेती, भरत बोहोरा, रविन्द्र केसीहरु छुटे । श्रीमतीलाई बढुवा दिँदा अपराध अनुसन्धानमा निकै अब्बल मानिने अमरेन्द्र सिंहलाई छुटाइयो । तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढुवा त्यहीअनुसार भएको नेपाल प्रहरीको उच्च स्रोतले बतायो ।

बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन् । प्रहरी प्रधान कार्यालयले गरेको एक बर्ष अघि पनि बढुवामा यस्तै भएको थियो । २८ जना डिएसपीलाई एसपी र ५५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्दा पनि प्रहरी संगठन विवादमा तानिएको थियो । एसपीको बढुवा सूचीमा रहेका गंगा पन्त, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, आभूषण तिमिल्सेना, तारादेवी थापा, दीपशमशेर राणा वरीयताक्रममा पछि परेका थिए ।

त्यतिबेला बढुवामा छुटाइएका रमेश बस्नेत र भीम दाहाललाई केही दिन अघि बढुवा गरियो । त्यतिबेलाको बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा खटिएका डिएसपी सानुराम भट्टराई चौथो नम्बरमा बढुवा भएका थिए । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनका पनि सुरक्षा गार्ड थिए । नेपाल प्रधानमन्त्री हुँदा सुरक्षा गार्ड प्रमुख रहेका अभिनारायण काफ्ले बढुवाको आठौं नम्बरमा सिफारिस भएका छन् । डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी थिइन् । भट्टराईलाई अहिले बारा जिल्लाको कमाण्ड गर्न दिइएको छ ।

बढुवाकै सुचीमा रहेका डिएसपी बेल विष्टलाई नियोजित रुपमा छुटाइएको स्रोत बताउँछ । उनी प्रहरी संगठनभित्र निकै अब्बल मानिन्छन् । यसअघि पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री वामदेव गौतमको पिएसओ बसेका मिमबहादुर लामा पहिलो नम्बरमा बढुवा गरिएको थियो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन वर्षको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्दा कोही अघि कोही पछि परेका हुन् । ‘प्रहरी नियमावली २०७१’ले कार्यसम्पादन मूल्यांकनलाई बढुवाको आधार बनाएको छ । त्यही नियमावलीअनुसार बढुवा सिफारिस भएका बताइएपनि कार्यसम्पादन मूल्यांकनभन्दा बढुवा समितिले दिने नम्बरमा बढी चलखेल हुने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments