Subscribe Us

एनसेल कार्यालय परिसरमा भएको विस्फोटबाट तीन घाइते, घाइतेमध्ये एकको अवस्था गम्भीर

कमलपोखरीको बम सेनाद्वारा निस्क्रिय






ललितपुर । राजधानीको ललितपुर नख्खुचोकस्थित एनसेलको मुख्य कार्यालयमा शुक्रबार बेलुकी बम विष्फोट गराइएको छ । साँझ करिब आठ बजे भएको विष्फोटबाट एनसेल कार्यालय परिसरमा क्षति पुग्नुका साथै तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मेडिसिटी अस्पतालकी स्टाफ नर्स उरुसा मानन्धर, वागडोलकी प्रतीक्षा खड्का र लमजुङका सिंहप्रसाद गुरूङ रहेका छन् । घाइते तीनैलाई नख्खुस्थित मेडिसिटी अस्पताल, पुलचोकको अलका अस्पताल र ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ ।

उरुसाको मेडिसिटीमै उपचार चलिरहेको छ भने प्रतीक्षालाई अलका अस्पतालमा र सिंहप्रसादको बीबीएण्डबी अस्पतालमा उपचार भइरहेको छ  । गुरूङको अवस्था गम्भीर रहेको बताइएको छ । उपचारार्थ बीएण्डबीमा भर्ना गरिएका उनले दुवै खुट्टा गुमाउनुपर्ने सम्भावना रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ । विष्फोटअघि एक व्यक्तिले घटनास्थलमा एउटा ब्याग छोडेर गएका थिए । केहीबेरमै सो झोला विष्फोट भएको बताइन्छ । विष्फोट निकै शक्तिशाली रहेको सुरक्षासुत्रको भनाई छ ।

यस्तै, काठमाडौं कमलपोखरीस्थित जैनभवन अघिल्तिर एक कुकर बम फेला परेको छ । शुक्रबार साँझ भेटिएको कुकर बमलाई सुरक्षाकर्मीको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । 

यसरी राजधानीका विभिन्न स्थानमा एकाएक विष्फोटनका घटना कसले गरायो भन्ने पुष्टि भइसकेको छैन । तर, एनसेलले अर्बौंको करछली गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले कारवाही गर्ने चेतावनी दिएको थियो । यो घटनालाई सोही चेतावनीसँग जोडेर हेरिएको छ । यथार्थ के हो भन्ने सम्बन्धमा प्रहरीले अलग्गै अनुसन्धान शुरु गरेको छ ।

Post a Comment

0 Comments