Subscribe Us

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा फागुन ११ मा हुने


काठमाडौँ, ७ फागुन । देशभरका व्यापार–व्यवसायसँग सम्वद्ध संस्थाहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो साधारणसभा फागुन ११ गते शनिबार हुने भएको छ ।

राजधानीको एल्लो प्यागोडा होटलमा हुन गैरहेको साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता तथा पूर्वअर्थमन्त्री डा रामशरण महत र काठमाडौ महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको विशिष्ट आतिथ्यतामा हुन गैरहेको साधारणसभामा महासंघमा आवद्ध २० भन्दा बढी संघको सहभागिता रहने महासंघका महासचिव अञ्जन शाक्यले बताए ।

‘देशभर छरिएर रहेका समान उद्देश्य र समस्या झेल्दै आएका संघसंस्थाहरुलाई एउटै छातामा एकवद्ध गरेर व्यवसायीक हकहित र अधिकारको संरक्षण गर्नु हाम्रो मुल उद्देश्य हो’ महासंघका अध्यक्ष नरेस कटुवाल भन्छन ‘स्थापनाको छोटो समयमै संस्थाले आफ्नो आवाज राष्ट्रियस्तरमा उठाउन सफल भएको छ, सहज ढंगले व्यापार–व्यवसाय गर्ने वातावरण बनाउन हामी सदैव दृढ रहनेछौ ।’

अध्यक्ष कटुवालले यो साधारणसभा महासंघको महाधिवेशनले पारित गरेका मुद्धाहरुको कार्यान्वयन पक्षमा केन्द्रित हुने बताउँदै व्यवसायी र उद्योगीहरुले झेल्दै आएका समस्या समाधान, व्यापार घाटा कसरी कम बनाउन सकिन्छ भन्ने विषय तथा भन्सार सहजिकरण लगायतका विषयमा बृहत छलफल गरिने बताए ।

‘व्यवसायीक हकहित तथा सुरक्षाका साथै कसरी स्वदेशमै उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा पनि हामी जुटिरहेका छौ’ अध्यक्ष कटुवाल भन्छन–‘हामी अहिले आयातमूखि व्यवसायमा बढी केन्द्रित भैरहेकोमा अब स्वदेशमै उद्योगधन्दा संचालन गर्ने र उत्पादनशिलतालाई बढाएर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने बाटोतर्फ उन्मुख भैरहेका छौ ।’

सरकारको मात्र मुख ताक्नु भन्दा पनि आफुहरुनै केहि गर्ने अठोटका साथ अघि बढेको भन्दै अध्यक्ष कटुवालले महासंघको यो प्रयत्नमा सरकारले सहयोग गर्नेमा आफुहरु आशावादी रहेको बताए । उनले सातवटै प्रदेशमा औधोगिक करिडोर स्थापना गर्नेदेखि लिएर सीप भएकालाई माथि ल्याउने तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्नेसम्मको योजनामा महासंघ रहेको बताए ।

राजधानीमा सुविधासम्पन्न होलसेल मार्केट नभइरहेको अवस्थामा काठमाडौ महानगरपालिकासँगको सहकार्यमा अत्याधूनिक सुविधासम्पन्न होलसेल मार्केट स्थापना गर्न पनि महासंघ दृढ रहेको धारणा राख्दै अध्यक्ष कटुवालले व्यापार–व्यवसाय तथा उद्यमशिलताको क्षेत्रमा महिला सहभागिता बढाउन पनि महासंघ प्रतिवद्ध रहेको बताए ।

Post a Comment

0 Comments