Subscribe Us

निहीतालाई लिएर फ्रान्स जाने योजनामा विकिनी किलर शोभराज

काठमाडौं । विकिनी किलरको उपमाले चिनने अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज नेपाली जेलबाट मुक्त भए पनि भारतीय सुरक्षा निकायले उनलाई पक्राउ गर्ने भएको छ । 

शोभराजलाई भारतीय सुरक्षा निकायले पटक–पटक सुपुर्दगी गर्नका लागि नेपाल सरकारसँग माग गरेको थियो । 

तर १५ बर्षअघि नेपालमा पर्यटक मारेको अपराधमा उनले सजाय काटिरहेका छन् । तर, हालै सर्वोच्च अदालतले उनलाई छाड्ने निर्णय लिनका लागि सरकारलाई सुझावसहितको आदेश दिएपछि भारतीय सुरक्षा संयन्त्र उनको पक्राउका लागि सक्रिय भएको सुत्रहरूको दाबी छ । 

उनकी सासु तथा कानुन व्यावसायी सकुन्तला थापाको रिटका आधारमा उनीबारे निर्णय लिनका लागि सर्वोच्च अदालतले सरकारका नाममा केही दिन अघि आदेश दिएको थियो । सकुन्तला शोभराजले जेलमा बिहे गरेको भनिएका निहिता विश्वासका पति हुन् । निहिता पनि उनीसँग फरक किसिमको सम्बन्ध स्थापित भएको स्वीकार गर्छिन् । 

यता, शोभराज रहेको केन्द्रीय कारागारले भने उनको स्वभावमा परिवर्तन आएको पनि जनाएको छ । सरकारले शोभराजबारे अहिले कुनै निर्णयचाहिँ लिएको छैन । तर सकुन्तला र निहिता भने अन्तर्राष्ट्रिय कानुनविपरित शोभराजलाई जेलमा राखिनु गलत भएको बताउँदै आएका छन् । उनीहरूले ‘१० बर्षसम्म मात्र राख्नुपर्ने कानुनी मान्यता र प्रावधानलाई’ नेपाली प्रशासनले मिचेको र अदालतले पनि खास निर्णय दिन नसकेको आरोप लगाउँदै आएका थिए । 

अघिल्लो बर्ष मुटुमा समस्या आएका कारण उनको गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइएको थियो । डा. रामेशले उनको मुटुको उपचार सकुशल गरेका थिए । जेल प्रशासनले उपचार गराएपछि उनलाई उतै लगिएको थियो । अहिले उनको चालचलनमा सुधार आएको पनि बताइएको छ । शोभराज आफैं पनि शारिरीक रुपमा अशक्त भइसकेका छन् । विगतमा जस्तो जेल प्रशासनलाई अप्ठेरोमा पार्ने, अन्य कैदीलाई नचाहिँदो काम गर्न उक्साउने, जेलभित्रको अनुशासन भङ्ग गर्ने वा अस्वाभाविक माग राख्ने जस्ता कार्य हाल शोभराजले नगरेको जेल प्रशासन वेदनिधि अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । सोही कानुनी व्यवस्थामा टेकेर शोभराजले आफू ७५ वर्षको भइसकेको र नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था लागू हुनुपर्ने भन्दै आफ्नी सासु एवम् वारेस समेत रहेकी अधिवक्ता सकुन्तला थापामार्फत् रिट दायर गरेका थिए ।

आफू ७० लागेपछि शोभराजले कैद मिनाहाका लागि पटक पटक निवेदन दिएका थिए । उनकै लागि भनेर पत्नी निहिताले वकालतको अध्ययन पनि पुरा गरिसकेकी छन् । झण्डै ४४ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र उनको क्यानडाली साथी लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरक–फरक मुद्दामा काठमाडौं र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका थिए । जसलाई सर्वोच्च अदालतले सदर गर्दै आएको थियो । शोभराजविरुद्ध भारत, थाईल्याण्ड, टर्की, ईरान लगायतका मुलुकमा गरी झण्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ ।

शल्यक्रिया सफल भएपछि खुशी देखिएका शोभराज आजकल अन्य कैदीबन्दीलाई समेत अन्यायविरुद्ध कानुनी लडाइँ लड्न, योग र स्वास्थ्यका बारेमा सचेत गराउँछन् । यतिसम्म कि जेल प्रशासनलाई समेत सम्हाल्न गाह्रो परेको भनिएका बालयौन दुराचारमा दोषी ठहरिएका एकजना अष्ट्रियाली नागरिकलाई शोभराजले सम्झाइबुझाइ गरी कारागारभित्र हडतालभन्दा कानुनी उपचार खोज्न सुझाएका थिए  ।
अदालतले के भनेको थियो ?
कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताइरहेका शोभराजका विषयमा गत आईतबार सर्वोच्चले थुनामुक्तको निर्णयाधिकार सरकारलाई दिएको थियो । 

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई कारागार ऐन र नियमावलीको प्रावधान अनुसार उमेरहदका कारण रिहा गर्नुपर्ने देखिएकाले तीन महिनाभित्र निर्णय गर्न सरकारका नाममा आदेश गरेको थियो । 
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले २० कात्तिक २०७५ मा शोभराजलाई किन थुनेको भन्दै सरकारका नाममा कारण देखाउ आदेश दिएको थियो ।

विदेशी नागरिकको हत्या आरोपमा केन्द्रीय कारागारको गोलघरमा रहेका फ्रान्सेली शोभराजका तर्फबाट अधिवक्ता सकुन्तला थापाले १९ कात्तिक २०७५ मा दर्ता गराएको रिट निवेदनको सुनवाईमा अदालतले यस्तो आदेश गरेको हो । अधिवक्ता थापाले शोभराजको स्वास्थ्य अवस्थासहित ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावली अनुसार रिहा गर्न परमादेशको आदेश माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । 

ज्येष्ठ नागरिक ऐन २०६३ को १२ अनुसार ७० वर्ष पुरा भई ७५ ननाघेको कैदीलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गरेको छ। तर यो सुविधा नेपाली नागरिकका हकमा मात्र लागू हुन्छ । शोभराज २०८० असोजसम्मका लागि कैद भुक्तान गरिरहेका छन् ।भक्तपुरमा २०३२ सालमा हत्या गरिएका क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले २०७२ असोज १ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले हदम्याद सकिएको मुद्दामा भक्तपुर अदालतले गरेको फैसलाले अन्याय भएको भन्दै बदर गरिपाउँ भनि पुनरावेदनमा २०७३ बैशाख २४ गते मुद्दा दर्ता गरेका थिए ।
भारत किन पक्राउ गर्न चहान्छ ?
भारतमा पनि महिलाको हत्या गरेर नेपाल फरार भएपछि सजायका लागि कुनै खास मौका नपाएका कारण शोभराज पक्राउ गर्न चहान्छ । शोभराजका विषयमा बलिउडमा फिल्मसमेत बनाइसकिएको छ । शोभराजलाई निगरानीमा राखीरहेको भारतले उनकी पत्नी भनिएका निहिता विश्वासलाई त्यहाँको रियालिटी शोमा समेत लगेको थियो । नेपालमा खटिएका कतिपय गुप्तचर अधिकारीले शोभराजलाई नेपाल सरकारले छाड्न लागेको र उनलाई उम्कन नदिनका लागि सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको छ । 


Post a Comment

0 Comments