Subscribe Us

विश्वकप खेल्न एउटै टोलबाट खेलाडी पुगे अर्जेन्टिना,
खेलाडी र देशकै मान र प्रतिष्ठामा आघात पुग्ने दावी

काठमाडौं । अर्जेन्टिनामा जारी राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन गएको नेपाली टोली नै कानून विपरित गएको खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल समीति रहने भएपनि अहिले अर्जेन्टिमा देशकै प्रतिनिधित्व गरेर गएको टोलीको बारेमा पनि एन्फा अनविज्ञ छ । 

अझ अचम्म लाग्दो कुरो त के छ भने एउटै टोलका खेलाडी र पदाधिकारी मात्र फुटसल खेल्न अर्जेन्टिना पुगेका छन् ।

१२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगिता खेल्न नेपाली टोली कसरी अर्जेन्टिना गयो भन्ने प्रश्न गर्दा एन्फाका महासचिव इन्द्रमान तुलाधार एन्फालाई कुनै पनि जानकारी नभएको बताउँछ । तर, फुटसल भने आधिकारीक रुपमा एन्फामा नै दर्ता हुनुपर्ने प्रावधान छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेपा) ले मनोमानी ढंगले देशको प्रतिनिधित्व गर्न कुनै पनि प्रतियोगिता नगराई एउटै टोलबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी पठाउँदा देशकै इज्जत र प्रतिष्ठामा आँच आएको छ । क्यानडासँग पहिलो खेल खेलेको नेपालले अप्रत्यासित हार व्यहोरेपछि यसको रहस्य विस्तारै खुल्दै गएको हो । 

१२ सदस्सिय फुटसल टोलीमा कप्तान समीर कार्की, दिपेन्द्र रसाइली, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेश मान श्रेष्ठ र सन्जिब तामाङ रहेका छन् । टोलीको प्रशिक्षकमा भने कमल विष्ट र राजेन्द्र थापा मगर रहेका छन् । त्यसैगरी पदाधिकारीमा सन्तोष पराजुली र गोविन्द पौडेल रहेका छन् । 

यिमध्ये गोविन्द पौडेल नेपालय कलेज, कलंकीका सञ्चालक हुन् भने प्रशिक्षक राजेन्द्र थापा मगर सोही कलेजका प्रिन्सिपल मनोज थापा मगरका भाई हुन् । त्यस्तै प्रशिक्षक विष्ट कलंकीमा रहेको विजी फुटसलका मालिक हुन् । खेलाडीहरु अधिकांश विजीमानै फुटसल खेल्ने कलंकी क्षेत्रका सामान्य खेलाडी हुन् । केही खेलाडीहरु पोखराका भएपनि कलंकी नै बस्दै आएको समेत बुझिएको छ । त्यस्तै कप्तान कार्की भने ओराकल स्कुलका स्पोर्ट शिक्ष हुन् । ओराकल स्कुल पदाधिकारी गोविन्द पौडेलको हो । 

देशकै प्रतिनिधित्व गर्न पठाउँदा विना प्रतिस्पर्धा एउटै क्षेत्रबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी लैजानुुले यसभित्र ठूलो रहस्य रहेको देखाउँछ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नै उक्त टोलीलाई विदाई गरेका थिए । स्रोतका अनुसार पदाधिकारी र प्रशिक्षकबाट ३÷३ लाख तथा खेलाडीहरुबाट २ लाख रुपैयाँ उठाएर फुटसल खेल्न अर्जेन्टिना पठाएको बताइएको छ । यस विषयको बारेमा बुझ्न राखेपका सदस्य सचिव केशव विष्टलाई फोन गर्दा उनको फोन स्वीच अफ थियो । एन्फाका एकजना पूर्व पदाधिकारी यस्तो क्रियाकलापले मानव तस्करीको संकेत गरेको दावी गर्छन् ।

उनी भन्छन्–‘एन्फासँग एएफसीबाट मान्यता प्राप्त १९ जना फुटसल प्रशिक्षक हुँदा हुँदै पनि फुटसलको बारेमा सामान्य जानकारी मात्र भएका व्यक्तिलाई समेटेर एन्फालाई नै पत्तो नदिई देशको प्रतिनिधित्व गर्न पठाउनुले यसबाट मानव तस्करी हुन सक्ने देखिन्छ ।’खेल तालिका अनुसार समूह ‘डी’ मा नेपाल सहित क्यानडा, क्याटलना र फ्रान्स रेहेका छन् । वाइल्ड कार्डमार्फत विश्वकपमा स्थान बनाएको पहिलो खेलमा पनि नेपाल अमेरीकासँग २–१ को गोलअन्तरले पराजित भएको छ ।

Post a Comment

0 Comments