- घटना दबाउनका लागि मृतक परिवारलाई सैनिक जंगी अड्डामा लगेर दबाब दिइएको खुलासा
- सामन्त संस्कारको सरकारी सुविधा लिने कर्णेल प्रधानसेनापति थापा नजिक
- सातदोबाटो प्रहरी भन्छ– आत्महत्या गरेको भनी जाहेरी आएको छ, घटनाका अन्य कारणबारे अनुसन्धान हुनसक्छ

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपप्रधानमन्त्री, प्रधानसेनापति, मन्त्री लगायत उच्च पदस्थ व्यक्तिको सुरक्षाको
जिम्मा पाउने अति विशिष्ट व्यक्ति सेवा निर्देशनालयका प्रमुख कर्णेल थापाको घरमा
सिपाही प्रदिप तामाङको शव पासो लागेको अवस्थामा फेला परेको सातदोबाटो प्रहरीले
पुष्टि गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले भने,‘सोमबार पीडितका
तर्फबाट जाहेरी आएको छ । जाहेरीमा हत्या वा अन्य विषय भनिएको छैन ।’ तर शुक्रबार रातीसम्म आफ्नी पत्नीसँग कुराकानी गरेका सिपाही तामाङले कर्णेल
थापाको घरमा आत्महत्या गर्नुको कारण भने प्रहरीले खोजेको छैन ।
मानौ, यो आत्महत्या नै
हो तर ड्युटीमा रहेका जवानले कर्णेलको घरमा झुन्डिनुपर्ने अवस्था कसरी आयो, खोज्नुपर्दैन ? जनप्रहारको प्रश्नमा
डिएसपी मिश्र भन्छन्,‘धेरै कुरा पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ । तर, यो कोणबाट पनि
खोजीनीति हुनुपर्ने हो । अवस्थाअनुसार हामी खोजी गर्नेछौं ।’
तामाङको शव प्रहरीको निगरानीमा झुण्डिएको अवस्थामा नै फेला पारी मुचुल्का
उठाएको बताएका उनले मृतक परिवारलाई जानकारी दिन र भक्तपुरको घर पुग्नका लागि भने
कर्णेल थापासहितका सैन्यहरूले सहयोग गरेको बताए । तामाङको शव पोष्टमार्टमका लागि पाटन अस्पताल लखनखेलमा राखिएको छ । रिपोर्ट आउन
केही दिन लाग्नेछ ।
मृत तामाङले पत्नी शान्ति तामाङको मोबाइलमा शुक्रबार राती १० बजेर ११ मिनेटमै
पठाएको ‘मलाई मारिदियो ल’ भन्ने सन्देशबारे
अनुसन्धान गर्नुभयो ? जनप्रहारको प्रश्नमा डिएसपी मिश्र भन्छन्,‘त्यसबारेमा मैले
पनि मिडियामा सुनेको हुँ, अनुसन्धान हुन पाएको छैन ।’
कर्णेल थापाले एक डिआइजीको सहयोगमा यो मुद्दालाई साम्य पार्न खोजेको स्रोतको
दाबी छ । त्यसैअनुसार नै प्रहरीले मृत्यु प्रकरणका सम्पूर्ण सूचनाबारे यकिन
जानकारी नदिने गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार कर्णेल थापा उनकी श्रीमती र एक छोरी उक्त घरमा बस्दै आएका थिए
। सोही दिन बेलुका कर्णेल थापा र उनकी श्रीमती पार्टीबाट फर्किएका थिए । डेढ
वर्षदेखि कर्णेल थापाको घरमा भक्तपुर गुन्डु स्थायी घर भएका मृतक तामाङ कार्यरत
थिए ।
सेनाका अधिकारीको घरमा सरकारी काम गरिरहेका सिपाहीलाई घरेलु कामदारका रूपमा
समान्त शैलीमा राख्ने गरिएको छ । यहाँसम्मकी सैनिक हाकिमका पत्नीका कपडा धुन, खाना पकाउन, तरकारी ल्याउन
पनि त्यस्ता सिपाहीलाई काम लगाउने गरिएको छ ।
कर्णेल थापा प्रधानसेनापति पूर्णचन्द्र थापा नजिक रहेका कारण यो मुद्दा
मिलाउनका लागि मृतक परिवारलाई जंगी अड्डासम्म पुराइएको स्रोतको दाबी छ ।
0 Comments