Subscribe Us

प्रहरीमा राजनीतिक दबदबाः बदमास बढुवा, व्यवसायीक ठण्डा !


काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप व्यापक मौलाएको कारण व्यावसायीक अधिकृत मारमा परेका छन् । सरकारका मन्त्री, नेता र कर्मचारीले दुई तिहाईको दम्भ देखाउँदै प्रहरीमा मनपरी हस्तक्षेप गर्न थालेपछि व्यावसायीक प्रहरी अधिकृतहरु मारमा परेका हुन् ।

नेपाल प्रहरीमा आईजीपी सर्वेन्द्र खनालको बढुवासँगै दुई तिहाई सरकारले आफ्नो अनुकुल प्रहरीको सरुवा बढुवा गर्न थालेको हो । नियम कानुन नै संशोधन गर्दै सरकारले आफू निकटलाई सरुवा र बढुवा गर्न थालेका उदाहरण धेरै छन् ।

गत साता भएको प्रहरी नायब निरीक्षक बाट निरीक्षक बढुवा पनि राजनीतिक दलका चाकडी गर्ने र आर्थिक चलखेल भएको पुष्टि हुन्छ । गत साता भएको बढुवामा कारवाही भोगेका, निलम्बन भएका, नसिहत पाएका, हतियार बेचबिखनको आरोपमा कारवाही भोगेकाले बाजी मारेका छन् ।

२०६० मा बढुवा भएका र मास्टर डिग्री लिएर जागिर अबधि देखि एक पटक पनि स्पष्टिकरण नसोधिएका अधिकृतलाई नियतबस रुपमा छुटाईएको छ ।  नेपाल प्रहरीका आशा लाग्दा र संगठनले बिश्वास गरेका आईजीपी सर्वेन्द्र खनालले यस्ता कुरामा ध्यान नदिँदा र आफू निकटको बिश्वास गर्दा उनी संगठनभित्र आलोचित बन्दै गएका छन् ।

दुई महिना अगाडि भएको नेपाल प्रहरीको नायब निरक्षक बढुवा होस् वा गत साता भएका बढुवा तथा गत महिना भएको एसपी बढुवाको लिस्ट हेर्दा राजनीतिक दल हावी भएको पुष्टि हुन्छ । चेन अफ कमाण्डमा चल्ने संगठनमा दुई बर्ष जुनियर रहेका ५८ को लाई बढुवा दिएर दुई दुई बर्ष सिनियर रहेका ५६ का ७ जना डिएसपीलाई छुटाईएको थियो ।

फौजी संगठनमा यस्ता किसीमको बढुवाले दैनिक कार्य सम्पादन र चेन अफ कमाण्डमा ठूलो असर पु¥याउने छ । गत साता बढुवा भएका ५४ जना प्रहरी निरक्षकमा ३४ जना बिभिन्न समयमा  कारवाही भएका, निलम्बनमा परेका र जागिर छोडेर जोडेकाले बाजी मारेका छन् ।

संगठनमा कर्तव्यनिष्ठ भई काम गर्ने प्रहरी अधिकृतलाई पाखा लगाउँदै नेताको दलाली गर्ने, हाकिमको चाकडी गर्ने र आर्थिक चलखेल गर्नेको बढुवामा हालिमुहाली भएपछि आशा र भरोसाका रुपमा देखिएका संगठन प्रमुखको तिव्र आलोचन  बढेको छ ।

भाषणमा नेताको ढोकामा पुग्नेलाई कारवाहीको डण्डा बर्साउछु भन्ने चिफसापले नै नेता, दलाल र माफियाको सिफारिसलाई शिरोपर गरी प्रहरीको बढुवा र सरुवा गर्न थालेपछि आईजी खनाल माथि संगठनका व्यावसायीक प्रहरी अधिकृतले आशा गर्न छाडेका छन् ।

Post a Comment

0 Comments