Subscribe Us

नयाँ बसपार्क क्षेत्रको विकृति यथाशीघ्र अन्त्य हुन्छः परिसर प्रमुख सुवेदी

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा “नयाँ बसपार्क क्षेक्रमा हुने अनैतिक त्रियाकलाप विरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ”, सुवेदीले भने ।

परिसर प्रमुख सुवेदीले व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई पनि कारवाही गरिने बताए । गोँगबु क्षेत्रका नागरिकले पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।
टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । “होटल व्यवसायको शिलशिलामा देखिएका कानूनी अप्ठ्यारा समाधानका लागि नगरपालिका सधैँ लाग्नेछ”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए । “नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागिपरेको छ”, उनले भने । कार्यक्रममा गोँगबु क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा सदस्यले मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गरेर बसपार्कलाई नमूना बसपार्क बनाइनुपर्नेमा जोड दिए ।

Post a Comment

0 Comments