Subscribe Us

नेपालको गुप्तचर संस्था– बाँदरको पुच्छर !
सेना, प्रहरी र सशस्त्रका इन्टेलिजेन्स प्रमूख– लौरो न हतियार


काठमाडौं । नेपालको गुप्तचर विभाग नेपाली उखान बाँदरको पुच्छर लौरो न हतियारजस्तो सावित भएको छ । राष्ट्रमा हुने महत्वपूर्ण दुर्घटनाको पूर्व जानकारीसहितको सूचना संकलन गरी सुरक्षा निकायलाई अलर्ट गर्नुपर्ने यो विभाग आइतबार र सोमबार राजधानीलगायतका ठाउँमा भएका विस्फोट र घटनाबारे पूर्व जानकारी दिन असफल भयो ।

यसै पनि नेपालको राष्ट्रिय अनुसन्धान विभागले प्रभावकारी काम गर्दै आएको छैन । उक्त विभागमा राष्ट्रिय सूचना विदेशीलाई बिक्रि गर्ने गिरोह नै रहेको दाबी गरिँदै आएको छ । सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले राजधानी काठमाडौंमै विभिन्न ठाउँमा विस्फोटको तयारी थालेका थिए । त्यसको पूर्वसन्ध्यामा विस्फोटक पदार्थ पड्किँदा विप्लव समूहकै चार कार्यकर्ताको मृत्यु भयो । तर राजधानीका विभिन्न ५० औं ठाउँमा बम राखियो भने राजधानी बाहिर पनि सोही प्रकारको आतंक मच्चाउने काम भयो । तर, यसको पूर्वसूचना र सम्भावित खतराबारे विभागले कुनै जानकारी दिन सकेन ।

छिटपुट रूपमा हिंसात्मक घटना गराउँदै आएको उक्त समूहलाई सरकारले प्रतिबन्ध घोषणा गरेपछि निगरानी बढाएको जनाएको थियो । कतिपय ठाउँमा धरपकट पनि गरेको थियो । तर, उसका योजनाबारे केही पनि सूचना चुहाउन नसक्ने र त्यसलाई असफल बनाउनेतिर सुरक्षा निकाय डाइभर्ट हुन नसक्नु दुर्भाग्यपूर्ण बन्यो । उच्च स्रोतले भन्यो,‘यो निकाय राजनीतिक दलका कार्यकर्ता, भीआइपीका आफन्त र भ्रष्टाचार, कमिशनमा केन्द्रित छ । गुप्तचर विभागको काम, कर्तव्य भन्ने कसैलाई पनि थाहा छैन ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमूख गणेश अधिकारी भर्खरै नियुक्त गरिएका हुन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक मानिन्छन् । उनी प्रमूख भएपछि त झन् विप्लव समूहले विभिन्न पटक अनेक प्रकारका घटना गरिसकेका छन् । जसको पूर्वजानकारी दिने संयन्त्रलाई बलियो साथ चलाउन सकेका छैनन् ।
कसरी पद पाउने भन्नेचिर बढि ध्यान हुने तर जिम्मेवारी र कर्तव्य कसरी पूरा गर्ने भन्नेचाहिँ हेक्का नहुँदा अनुसन्धान विभाग नै कमजोर बनेको छ’, उच्च स्रोतले भन्यो,‘अधिकारी पनि यहि संस्कारबाट हुर्किएर आएका हुन् कुनै प्रभावकारी काम देखाउन सकेनन् ।

कार्यकर्ता र आफन्तको भर्ती केन्द्र बनाइएको अनुसन्धान विभागलाई सरकारी रकम लिने र अन्यत्र जागिर खाने भाँडोका रूपमा मात्र विकास गरियो । प्रधानमन्त्री माथाहत लगिएको उक्त विभागमा काम गर्ने अधिकारी कुनै न कुनै राजनीतिक व्यक्तिका नातेदार छन् जसलाई काम गर्नुपर्छ भन्ने दायित्व बोध नै छैन । 

उच्च स्रोतले भन्यो,‘यस्तो दुर्दशामा चलेको संगठनले कसरी काम गर्न सक्ला ?’ प्राविधिक र आजको विश्वमा सबैभन्दा ठूलो हतियार सूचना संयन्त्र नै हुने र त्यसैका आधारमा भौतिक र जनताको सुरक्षाका विषयमा राज्यले निर्णय लिन सक्दछ । तर कमजोर गुप्तचर संस्था राखेर सरकारले प्रभावकारी काम गर्न सक्छु भन्नु मुर्खता हुने बताउँछन् अधिकारीहरू ।

लौरो न हतियार कोको ?
आतंकवादी तथा विध्वंसपूर्ण कामको पूर्वसूचना जफत गरी सरकारलाई सुझाव दिन सक्ने अन्य निकाय हुन्, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी । राज्यको ठूलो रकम यी सुरक्षा संगठनका लागि खर्च हुने गरेको छ ।

यस्ता संयन्त्रमा कायम गरेका विभाग प्रमूखले पनि प्रभावकारीताका साथ काम गर्न सकेका छैनन् । नेपाली सेनाको एन्टी टेरोरिज्म विभागले यस्ता घटनाको सूचना संकलन गरी जंगी अड्डा हुँदै सरकारसम्म सूचना पुराउन सक्ने थियो । राष्ट्रिय सुरक्षा परिषद्मा जानकारी गराई सम्भावित खतरालाई निक्र्यौल गर्न सकिन्थ्यो ।

सेनाको उक्त निकायका प्रमूख छन्, उपरथी झन्कर कडायत । उनको नेतृत्व पनि यस प्रकरणमा फितलो देखियो । भौतिक रूपमा सेना बाहिर आउने वैधानिकता नभए पनि सूचना सैन्य प्रमूखसम्म पुराउने र त्यसले सुरक्षा परिषद्मा सम्भावित खतराबारे जानकारी गराउन सक्ने थियो । तर, कडायतले पनि उक्त विषयमा सैनिक मुख्यालयमा कुनै जानकारी दिन सकेनन् । सैन्य स्रोतले भन्यो,‘सेनामा आंशिक सूचना आउने गरेका थिए तर यसपटकको सूचनामा कोही कहीँ चुक्यो ।

यता, हालैमात्र ७ करोड ६७ लाख भारतीय नक्कली नोटसहित युनुस अन्सारी प्रकरणमा नेपाल प्रहरीको विशेष व्युरोले अनुसन्धान गरेको थियो । तर, यो व्युरोको काम आतंकवादी गतिविधि, विध्वंश्वात्मक कामको पूर्व जानकारी राख्नु पनि हो । यो निकाय चलायमान हुनुपर्नेमा लौरो न हतियार जस्तो बनिदियो । यसको नेतृत्व गरिरहेका छन्डिआइजी कमल जिटीले ।

विप्लव प्रकरणमा सरकारले प्रहरीलाई नै सक्रिय गराएका कारण यो निकायले स्पष्ट सूचना संकलन गरी बम प्रकरणबारे जानकारी गराउनपर्दथ्यो । तर, यसलाई जिटीले चलायमान बनाउन नसकेको आइतबार र सोमबारका घटनाले पुष्टि गरेको छ । उता, सुरक्षा संयन्त्रको अर्को निकाय सशस्त्र प्रहरी बलमा पनि यस्तो निकाय छ । 

सूचना संकलन गर्ने र गुप्तचर विभागको जिम्मेबारी एसएसपी कृष्णभक्त ब्रम्हाचार्यले गरेका छन् । यस मामिलामा उनको पनि सक्रियता बलियो देख्न सकिएन । तर केही समयअघि सशस्त्र प्रहरीले भने विप्लव नेतृत्वका कुन नेता कहाँ के गरिरहेका छन् भन्ने सूचनाचाहिँ सरकारलाई दिएको थियो । जसको बलमा नै विभिन्न ठाउँमा धरपकड गरी नेताहरू पक्राउ गरिएका थिए ।

Post a Comment

0 Comments