Subscribe Us

नेटवर्किङ धन्दामा सहभागी आतंकवादका सहयोगी !

काठमाडौं । अवैध नेटवर्किङ व्यवसाय गरेको आरोपमा गत साता पक्राउ परेका १२ भारतीय नागरिक मध्येका मुख्य रसिद नसिम भन्ने व्यक्ति अन्तर्राष्ट्रिय आतंकवादसंग सम्बन्ध रहेको रहस्य खुलेको छ ।

नेपाल प्रहरीको बिषेश ब्यूरो र भारतीय राजदूताबासको निगरानीमा रहेका केही व्यक्तिसँग नसिमको सम्र्पक देखिएपछि उनिमाथिको अनुसन्धान मोडिएको हो । नसिमको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले पनि सुरुवात गरेको छ । आइतबार सीआइबीको टोली महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर अनुसन्धानको फाईल पल्टाएको थियो ।

भारतको उत्तर प्रदेशका गृहमन्त्रीका निकट मानिने रसिद नसिम अबैध धन्दाका नाइके रहेको प्रहरीको दाबी छ । भारतमा पनि उनले अर्बौं रुपैंया ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । साइन गु्रप कम्पनीको प्रमूख कार्यकारी निर्देशकसमेत रहेका रसिद नसिम नेटवर्किङ सम्बन्धी कार्यक्रमका लागि दुई साता अगाडी नेपाल आएका थिए । दिनको झन्डै दुई लाख पर्ने हयात होटलको प्रेसिडेन्सियल सुइट रुम बुक गरेर बसेका उनलाई नेपाल छिरेको तीन दिन पछि गत शुक्रवार याक एण्ड यति होटलमा भएको कार्यक्रमबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले रसिद नसिमसहित भारतको इलाहबादका अजितकुमार सिंह र मोहमद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, गिरीश उपाध्याय र आयुष उपाध्याय, उत्तरप्रदेश घर भएका अशोक कुमार र रमेश रामा, उत्तर प्रदेशकै सुनिल उपाध्याय र कासिफ सकिल तथा बैंग्लोर घर भएका महेन्द्र सिंह र ठेगाना प्रस्ट नभएका भारतीय नागरिक गजेन्द्र कुमारलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गिरोहले नेटवर्क विस्तार गर्न भन्दै एक सय ७० जना भारतीयसहित करिब तीन सयलाई तालिम दिँदै गर्दा पक्राउ परेका थिए ।  यो समूहले दुबईमा प्रधान कार्यालय तथा भारतको लखनउ, हङकङ र मोरिससमा शाखा कार्यालय खोली पिरामिड शैलीको नेटवर्क व्यवसाय सञ्चालन गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । अभिमुखीकरण शैलीको कार्यक्रममा १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड पाइने भन्दै सदस्यलाई प्रलोभनमा पारीएको थियो ।
आफ्नो खातामा २५ सय डलर जम्मा भएपछि प्रत्येक महिना ५ प्रतिशत र नयाँ सदस्य बढाउन सके १५ प्रतिशतसम्म कमिसन पाइने प्रलोभन देखाएर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको हो ।
प्रहरीका अनुसार बाजुरा र ललितपुरको सातदोबाटोमा घर भएका  महेन्द्र सिंहले साइन ग्रुपको नेपाल कनेक्सनको काम गरेको देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिंहले नेटवर्क विस्तार गरेर लाखौं कमाउन सकिने लोभ देखाएर सुदूरपश्चिमका धेरै मान्छेलाई ग्रुपको सदस्य बनाउँदै लाखौ रुपैंया ठगी गर्दै आएका थिए । 

Post a Comment

0 Comments