Subscribe Us

हार्डलाइनर प्रधानमन्त्री
ओलीका दुश्मन– पार्टीमा इतर समूह, सचिवालयमा नाफाखोर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा भित्र हार्डलाइनर अध्यक्षका रूपमा स्थापित छन् । त्यसैले कम्युनिस्ट हार्डलाइनरको पक्षमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहयोगी जस्ता देखिएका छन् । यद्यपि, उनको यहि छविलाई ध्वस्तबनाउँदै पार्टी र सरकारमा कमजोर बनाउन विभिन्न एजेन्सीले उनका निकटवर्तीलाई प्रायोजित प्रयोग गर्न थालेका छन् ।

पार्टीका सहकर्मी नेता र सचिवालयका भित्रियाले असफल बनाउने षडयन्त्र गरेका सूचनाहरू जनप्रहाले फेला पारेको छ । अघिल्लो पटकको कार्यकालमा असफल बनाउनका लागि सक्रिय भएको समूह नै यस पटक पनि उनीविरुद्ध विदेशी एजेन्सीहरूले परिचालन गरेका हुन् । 

पार्टीमा विचारइतरको समूह र निवास तथा कार्यालयमा सचिवालयका मान्छे बिक्रि भइसकेका छन् । यसैकारण ओलीलाई तल्लो तहबाट सहयोग गर्ने इमान्दार राजनीतिक कार्यकर्ताले सितिमिति भेट्न पाउँदैनन् तर तस्कर, माफिया र कालो धन थुपार्नेले भने सहजै भेट पाउने गरेका छन् ।

कसको एक्सेस ?
पार्टीका अध्यक्ष तथा स्थायी कमिटीका सदस्यबाहेकले ओलीलाई भेट्ने सहज एक्सेस छैन । प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले यी बाहेकका व्यक्तिको भेट प्रधानमन्त्री ओलीलाई सरल हिसाबले गर्न दिँदैनन् ।

विरोधी पार्टीकै भए पनि बेलामौका विवादमा आउने व्यापारी विनोद चौधरी, कालो धन थुपारेको अभियोग लागेका व्यावसायी चन्द्र ढकाल, एनसेल प्रकरणमा मुछिएका र कालो धन थुपार्ने समूहमा रहेका उपेन्द्र महतोलगायतले सहज भेट पाउँछन् । उच्च स्रोतले भन्यो,‘तर जिल्ला पार्टीका नेताहरू, उनलाई राजनीतिमा सहयोग गर्न चहानेहरूले भेट पाउन मुस्किल छ ।

तल्लो तहसम्म ओलीविरुद्ध भएका अनेक षडयन्त्रको जालोलाई प्रत्यक्ष भेट गरी जानकारी गराउन खोज्नेहरूलाई बाटो छेक्ने गरिएको पार्टीका पीडित नेताहरू नै बताउँछन् । तर भारतीय दूतावासका अधिकारीहरूलाई भने ओलीको सुत्ने कोठासम्मकै एक्सेस दिइने गरिएको छ । प्रधानमन्त्रीका लागि राजदूत महत्वपूर्ण हो की निर्वाचन क्षेत्रबाट आएको पार्टीको पुरानो कार्यकर्ता ?’, स्रोतले भन्यो,‘विदेशीसँग लसपस गरी प्रधानमन्त्रीका हरेक सूचना चुहाउनेहरूले एक्सेस हुन दिएका छैनन् ।

हार्डलाइनर ओली
व्यवाहारमा सफ्टभए पनि राजनीतिक विचारमा ओली हार्डलाइनर हुन् । यसैकारण पनि पार्टीका कतिपय निर्णय जिम्मेवारीका विषयमा भागवन्डा भन्दा पनि योग्यतालाई उनले ध्यानमा दिँदा कतिपय नेता चिढिएका छन् । तिनीहरू ओलीको गुटलाई छाडी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खेमामा बलियो रूपमा प्रस्तुत हुन थालेका छन् ।

बहुमत सचिवालय सदस्य अहिले प्रचण्डसँग सहमत रहेको मौका पारी ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने प्रायोजित तर गोप्य तयारी पनि भएको उच्च स्रोतको दाबी छ । प्रचण्डलाई आगामी प्रधानमन्त्री बनाउन चलखेल गर्ने आश्वासन दिइएको छ भने उक्त परिणाममा पुग्न ति एजेन्सीले कार्यालय र निवासको सचिवालयका अधिकारीलाई खरिद गरिसकेका छन् ।

अमेरिकी र भारतीय एजेन्सीहरूले ओलीका गोप्य सूचना चुहावट गराउनका लागि पार्टी भित्र नेता र कार्यालयमा सचिवालयका व्यक्तिलाई प्रायोजन गरेको स्रोतको दाबी छ । भारतले अहिले पनि प्रधानमन्त्री ओलीलाई सकारात्मक रूपमा अघि बढ्न अवरोध गरिरहेको छ’, स्रोतले भन्यो ।
स्रोतको दाबीअनुसारका संकेतहरू हालैका कतिपय राजनीतिक घटनाक्रममा देखिएका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा गएका बेला यता अर्का अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री खाने सहमति भएको खुलासा गरेका थिए । धेरै विवाद आउने देखेपछि ठाउँठाउँमा प्रचण्डले ओली नै ५ बर्षका लागि प्रधानमन्त्री हुने बताउँदै आएका छन् । तर, उनको बार्गेनिङ कार्यकारी अध्यक्षका लागि भएकाले कतिपय विषयमा सहमति हुन नसकेको हो ।

शक्तिशाली अध्यक्ष
सचिवालयमा बहुमत बनाएका प्रचण्ड एकल कार्यकारी अध्यक्ष बन्ने मुडमा छन् । यो मुडलाई बेलामौका परिक्षणका रूपमा नेता बामदेव गौतममार्फत तल्लो तहसम्म पु¥याउने कोशीश प्रचण्डले गरिरहेका छन् । ओलीका तर्फबाट यसको प्रतिरोध इश्वर पोखरेल र शंकर पोखरेललगायतका नेताले गरिरहेका छन् ।

स्रोतका अनुसार अहिले पार्टीका अन्य जिम्मेवारीका विषयमा निर्णय हुन नसक्नुका कारण अन्यको पद नमिलेर होइन, प्रचण्डको जिम्मेवारीको बार्गेनिङका कारण हो । जिल्ला, जनवर्गीय संगठनको नेतृत्वका विषयमा विवाद हुँदाहुँदै पनि मिल्ने अनि इञ्चार्ज सहइञ्चार्जमा सहमति हुँदैन भन्न सकिन्छ?’, उच्च स्रोतको दाबी छ,‘जसरी अन्य कमिटीको विवाद मिल्यो, त्यहि प्रक्रियाले यो विवाद पनि मिल्छ । तर, यहाँ विवादचाहिँ कार्यविभाजन र त्यसमा पनि प्रचण्डलाई कार्यकारी अध्यक्ष हुनुपर्छ भन्नेमा हो ।

त्यसो त केही महिना अघि नेता गौतमले एक नेता एक पदको अवधारणापत्र नै अगाडि राखेका थिए । सचिवालयको बैठकले त्यसलाई अनुमोदन नगरे पनि उनले खुलस्त रूपमा प्रचण्डलाई पार्टीको नेतृत्व सम्हाल्न दिनुपर्ने अडान राखे ।

शक्तिशाली अध्यक्षमा सहमति बनेको खण्डमा प्रचण्डले पार्टी नेतृत्व कब्जा गर्ने र त्यसको केही समयमा ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्नेसम्मको परामर्श भएको थियो । तर ओलीले उक्त प्रस्तावमा सहमति नगरेका कारण यो खेलले विश्राम पाएको हो ।

उच्च स्रोतले भन्यो,‘नजिरका रूपमा अघिल्लो पटकको प्रधानमन्त्रीको कार्यकाललाई हेरौं । प्रचण्डले प्रस्ताव गरी गठबन्धन सरकार बनेको थियो । तर, प्रस्ताव फिर्ता मात्र लिएनन् अविश्वासको प्रस्ताव समेत हालेर प्रधानमन्त्री पद खुस्काए र आफैं प्रधानमन्त्री बने ।

भ्रष्ट सचिवालय
हाल सदनमा प्रवेश गराइएको मिडिया काउन्सिल विधेयक पनि विदेशी र कालो धन थुपार्ने समूहको प्रभावका आधारमा ओलीका सचिवालयका मान्छेद्वारा प्रायोजित कानुन रहेको स्रोतको दाबी छ । यता गोप्य सूचना दिने उता मिडियालाई निषेध गर्न विधेयक पारित गर्नुपर्छ भनी उचाल्ने समूह छ’, उच्च स्रोतले भन्यो,‘यसको घातप्रतिघातको शिकार प्रधानमन्त्री ओलीलाई नै बनाउने षडयन्त्र हो ।
सचिवालयका कतिपय अधिकारीसँग ओली बेलामौका रिसाउने गरिएको पनि छ । तर, उनीहरू पैसा कमाउने ध्याउन्नमा प्रधानमन्त्रीको शक्ति ह्रास पार्ने उद्देश्यले सूचनाहरू चुहावटमा सक्रिय रहेको उच्च स्रोत दाबी गर्छ ।

Post a Comment

0 Comments