Subscribe Us

भाइरल मेयरका थामिनसक्नु झूठा विवरण


झुप्रोमात्र रहेको बताउने द्वारिकलाल चौधरीले इटहरी२२ स्थित राजमार्गमा पर्ने अढाइतले घर भाडामा दिएका छन्, जसले सार्वजनिक जग्गा नै मिचेको छ
काठमाडौं । पत्रकार र पत्रकारितालाई गाली गलौजमात्र होइन धम्की समेत दिएर भाइरल बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका थामिनसक्नु झूठा विवरणहरू रहेको खुलेको छ । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउने घोषणा गरे, भ्रष्टाचारीलाई कालोमोसो दल्ने, सडक मिच्नेलाई जनकारबाही गर्ने जस्ता कठोर शव्द बोली पत्रकारको नाकको डाँडी भाच्न एक करोडको घडेरी छुट्याएकोसम्म बताउने चौधरीका कर्तुत विस्तारै खुल्न थालेका हुन् ।

युट्युव र सामाजिक सञ्जालमा भाइरल भएपछि आफूलाई सेलिब्रिटी ठान्न थालेका मेयर यतिबेला नगरपालिकाको बजेट बनाउन भन्दा पनि तगडा अन्तरवार्तामा व्यस्त छन् । तर आफूले गल्ती गरेको स्वीकार्दै उनले आइतबार मात्र विज्ञप्ति त निकाले तर उनका कर्तुत लुकाउन सकेका छैनन् ।

इटहरीका सार्वजनिक जग्गामा बनेका संरचनामा डोजर लगाउने धम्कीपूर्ण चेतावनी दिने मेयरको आफ्नै घर भने सार्वजनिक जग्गामा छ । झुप्रोमा बस्छु भनी साधगीको प्रमाण दिएका उनको अढाईतले घरबाट भाडा पनि उठाउँछन् अनि, उक्त घर सार्वजनिक जग्गामा पनि पर्छ ।

यता, इटहरी उपमहानगरपालिकाले ५ लाखभन्दा बढीको एउटै आयोजनालाई टुक्राएर कोटेसनमार्फत विानप्रतिस्पर्धा गराएको काम पनि उनले सदर गरेको भेटिएको छ । आर्थिक वर्ष ०७३÷७४ मा मेयर भवन बनाउने निर्णयलाई  ०७४ असारपछि जिम्मेवारी सम्हालेपछि सदर गरे । गाह्रो नलगाइकन आल्मुनियम पार्टेसन गरेर बनाइएको यो एकतल्ले छाप्राको कुल लागत उपमहानगरपालिकाको रेकर्ड अनुसार ३३ लाख ५ हजार ३४० रुपैयाँ परेको छ । तर, ३३ लाखको भवन निर्माण गर्दा टेण्डर जारी गरिएन । बरु प्रतिस्पर्धालाई छल्नका लागि ५ लाखभन्दा मुनिका विभिन्न ८ वटा टुक्रामा विभाजन गरेर कोटेसनमार्फत काम गराइयो । एउटा छाप्रो बनाउन बेग्लाबेग्लै ८ वटा टेकेदार कम्पनीहरु खटे । कसेले चर्पी बनाए, कसैले जग हाल, कसैले झ्याल बनाए त कसैले रंग लगाए । यसरी विना प्रतिस्पर्धा कोटेसनबाटै ३३ लाख रुपैयाँ लागत देखाइयो ।

मेयर भवनमा रंग लगाउन इनरुवाको कुशल निर्माण सेवालाई ४ लाख ८ हजारमा जिम्मा दिइयो । झ्याल ढोकाका लागि धरानको मुनाल कन्स्ट्रसनलाई ४ लाख ९२ हजारमा दिइयो । मेयर भवनको प्रिफ्याबका लागि कोशी गाउँपालिकाको बाबा बुदेश निर्माण सेवालाई ४ लाख ९६ हजारमा ठेक्का दिइयो ।

त्यसैगरी मेयर भवनमा ट्रस लगाउन पश्चिम कुसाहाको जय बजरंगबली निर्माण सेवालाई २ लाख ६ हजारमा दिइयो । युपीभीसीका लागि दीप एण्ड सन्स कन्स्ट्रक्सनलाई ३ लाख ५२ हजारमा जिम्मा दिइयो । मेयर भवनको जगको काम गर्न इनरुवाको सेलेस्टि कन्स्ट्रक्सनलाई ४ लाख ८० हजारमा कोटेसनबाट ठेक्का दिइयो भने मेयर भवनको फिलिङ तथा फ्लोरिङका लागि श्रीपुरस्थित हरिना निर्माण सेवालाई ४ लाख ८० हजारमा दिइयो ।

अनि मेयर भवनको चर्पी बनाउनका लागि इनरुवाको योगराज निर्माण सेवालाई ३ लाख ८९ मा दिइयो । यसरी एउटा एकतल्ले छाप्रो निर्माणका लागि ५ लाखभन्दा मुनिका ८ वटा कोटेसनमार्फत काम गरेर जात्रा देखाइयो ।

इटहरी उपमहानगरपालिकामा टेण्डरलाई छलेर कोटेसनमार्फत काम गराइएको मेयर भवन र सीएफएल खरीदमा मात्रै होइन । जस्तोवडा नम्बर ७ को कार्यालय मर्मत गर्दा टेण्डर छल्न ४ लाख ७६ हजारको एउटा र ४ लाख ९७ हजारको अर्को कोटेसनमा काम गराइएको छ ।

७ नम्बर वडा कार्यालयको एउटै भवन मर्मतमा इटहरीको न्यु कोशी कन्स्ट्रक्सन र बिराटनगरको श्रीगणेश निर्माण सेवालाई कोटेसनमा बेग्लाबेग्लै ठेक्का दिइएको छ । यसमा पनि कार्यपालिका बैठकले भुक्तानी दिने निर्णय गरिसकेको छ । इटहरीको सांस्कृतिक भवन मर्मत प्रकरण त झनै हाँसोलाग्दो छ । एउटालाई चर्पी मर्मत गर्न र अर्कोलाई भवन मर्मत गर्न ठेक्का दिइएको छ । यसमा पनि ५ लाखभन्दा माथिको परियोजनामा टेण्डर छलिएको देखिन्छ ।

सांस्कृतिक भवनको शौचालय मर्मत गरेवापत मधुवनस्थित चण्डी निर्माण सेवालाई ४ लाख ६३ हजार रुपैयाँ भुक्तानी दिने निर्णय कार्यपालिका बैठकले गरेको छ । अनि, सांस्कतिक भवन मर्मतको जिम्माचाहिँ शौचालयभन्दा कम अर्थात ४ लाख ४४ हजारमा पश्चिम कुसाहाको जय बजरंग बलीले पाएको छ । बजरंग बलीलाई पनि भुक्तानी दिने निर्णय मेयर चौधरी नेतृत्वको कार्यपालिका बैठकले गरेको छ । यसैबीच, विभिन्न वडा कार्यालयको फर्निचर खरिदमा भएका नीतिगत भ्रष्टाचारमा चौधरीको पनि सदर छ ।

रामप्रसादसँग जग्गा कारोबारको पार्टनरसीप
मेयर चौधरीले सबैभन्दा ठूलो दुश्मनका रूपमा प्रस्तुत गरेका नेकपाका जिल्ला सदस्य रामप्रसाद चौलागाँई नै उनका सबैभन्दा ठूला पार्टनर हुन् । इटहरी यसै पनि जग्गा कारोबारका कारण ह्वात्तै नवधनाड्यको संख्या बढेको ठाउँ हो । त्यस कर्ममा मेयर चौधरी पनि अछुतो छैनन् । उनै चौलागाँईसँगको पार्टनरसीपका कारण उनले कयन पटक जग्गाका मुनाफा खाएका छन् ।

राजनीतिक इगोमात्र नभएर कारोबारको विषयमा पनि विवाद रहेका कारण चौलागाँईविरुद्ध चौधरी कठोर रूपमा प्रस्तुत भएका हुन् । अनेक ठाउँका जग्गा प्लटिङमा चौधरीले आफन्तका नाममा लगानी गरेको स्रोतको दाबी छ ।

इटहरी उपमहानगरपालिकाको बजेट बढ्दै गएपछि ठेक्का प्रणाली र अन्य विषय आफू माथाहतमा ल्याउन र आफूइतरलाई खुइल्याउन उनी मिडियाविरुद्ध बोल्न सुरु गरेका हुन् । मिडियाविरुद्ध बोल्दा आफू पनि हाइलाइटमा आउने भएका कारण उनले त्यसो गरेको हुनसक्ने बताइन्छ ।

नेकपा नेता भन्छन्मेयर उदण्ड
माफी माग्न सुझाव दिँदै नेकपा नेता शंकर पोखरेल र योगेश भट्टराईले फेसबुकमा दिएको अभिव्यक्तिको कडा आलोचना गरेका मेयरविरुद्ध स्थानीय र प्रदेश कमिटीका नेताले सार्वजनिक रूपमा बोलेका छैनन् ।

यसै पनि केन्द्रीय कमिटीका केही नेताले दबाब दिएपछि उनले माफी माग्दै विज्ञप्ति त निकाले तर हर्कत छाडेका छैनन् । नेकपाका स्थानीय नेता अहिले यो मामिलामा बोलेर खुल्नु राम्रो नहुने बताउँछन् । तर, उनीहरूको समान मत छमेयर चौधरी उदण्ड हुन् ।

कम्युनिस्ट हुनु र उदण्ड हुनुमा फरक छ । उनको आर्थिक र नैतिक चरित्रको बारेमा पार्टीले मज्जाले अध्ययन गर्छ, जुन हिसाबले प्रस्तुत भइरहेका छन् यो उदण्डताको पराकास्ट हो’, एक केन्द्रीय सदस्य भन्छन्,‘उनलाई तलबाट हावा भरिदिने छन् त्यसैको बलमा बोलिरहेका छन् । उनले संयमित हुन आवश्यक छ ।

Post a Comment

0 Comments