Subscribe Us

नेकपामा ठूला नेता नै निषेधमा, पोखरेल निशानामा, गौतममाथि हमला

काठमाडौं । विवाद समाधान भएको खण्डमा आज (मंगलबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ठूला नेताको विभागीय जिम्मेवारी सार्वजनिक हुने देखिएको छ । पार्टीका विभिन्न विभागको पार्टीगत हिसाबमा बाँडफाँट भइसकेको छ । तर, कुन जिम्मेवारी कसलाई दिने भन्ने सन्दर्भमा भने विवाद सुरु भएको छ ।

खासगरी संगठन विभाग र स्कुल विभागका विषयमा पूर्वमाओवादीबाट दाबी आउन थालेपछि विवाद सतहमा आएको हो । पूर्वएमालेको भागमा परेको संगठन विभागमा नेता बामदेव गौतम र स्कुल विभागमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलको नाम टुंगो लागेको बताइएको थियो । तर यी विभागमा पूर्वमाओवादीले दाबी गर्न थालेको छ । संगठन विभागमा नेता नारायणकाजी श्रेष्ठ र स्कुल विभागमा रामबहादुर थापा बादलको दाबी रहेको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा श्रेष्ठ र बादलसहितको बैठकले यी विभागमा दाबी नगरे नेकपाभित्र पूर्वमाओवादीको वैचारिक र सांगठनिक हैसियत नै गुम्ने छलफल भयो । यसैकारण प्रचण्डले पनि यी विभागमा आफ्नो पूर्वपार्टीको दाबेदारी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गरेका थिए ।

संगठन विभागमा गौतमलाई समर्थन गरे स्कुल विभागमा बादललाई सहयोगको प्रस्ताव प्रचण्डले राखेका थिए । तर, यसमा श्रेष्ठ बाधक बनिरहेका छन् भने यता पोखरेलले पनि मानेका छैनन् । अध्यक्ष ओलीले भने आफ्ना भागमा परेका विभागमा आफूले चाहेका पूर्वपार्टीका नेताको नाममा सहमति गर्नुपर्ने सुझाव दिएका थिए ।
संगठन विभागको प्रमूखमा नेता गौतमले खुला रुपमा नै दाबी गरिसकेका थिए । मिडियासँग उनले उक्त जिम्मेवारीमा आफ्नो विकल्प नभएको बताउनासाथ श्रेष्ठले त्यसलाई चुनौति दिँदै भने,‘अहिले त आफू हुन्छु भन्ने उहाँलाई लाग्ला तर मंगलबार निर्णय आएपछि थाहा हुनेछ ।’

पछिल्लो समय प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपर्ने लविङमा लागेका गौतममाथि नै पूर्वमाओवादीबाट विभागीय जिम्मेवारीमा हमला गरिएको छ । जसमा गौतमको रोष छ । उनले प्रचण्डलाई यसो किन गरेको ? भनेर सोधेको स्रोतले जनाएको छ ।

यसै पनि प्रधानमन्त्री बन्ने गौतमको चाहनालाई मिडियामा चर्चाको विषय बनाएर ‘पेण्डुलम’ पारेको पीडा कायम छ । अहिले संगठन विभागको जिम्मेवारी पूर्वएमालेको छलफलमै सहमति भईसक्दा पनि सचिवालयको बैठकमा पूर्वमाओवादीको दाबीपछि उनी खिस्रिक्क परेका छन् ।

बालुवाटारमा बैठक डाकी ठूला नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, गौतम र पोखरेलको जिम्मेवारी तोकिएको थियो । नेपाललाई विदेश, खनाललाई प्रतिष्ठान, गौतमलाई संगठन र पोखरेललाई स्कुल विभाग दिने सहमतिअनुसार नै अघि बढेका बेला पूर्वमाओवादीले त्यसमा किचलो निकालेको पूर्वएमालेको दाबी छ ।
सोही सहमतिका आधारमा नै गौतम, पोखरेलको जिम्मेवारीबारे खुला रुपमा दाबी आएको थियो । संगठन विभागमा दाबी गरिरहेका श्रेष्ठलाई भने प्रचार विभागको जिम्मेवारी दिइएको थियो ।

यस विषयमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले खुमलटारको आदेशमा पूर्वएमालेका नेताको जिम्मेवारी तय नहुने बताउँदै कृपा र दयाको कुरा गर्न नहुने बताएका छन् ।

सैद्धान्तिक रिसइबीको भुंग्रोमा पोखरेल 
नेकपाको राजनीतिक प्रतिवेदनमा कुन सैद्धान्तिक विषयमा चल्ने भन्ने विवाद चलिरहेका बेला नेता पाखरेलले प्रचण्डभन्दा एक कदम अघि बढेर जनताको बहुदलीय जनवाद नै हुने बताएका थिए ।

यति मात्र होइन, उक्त सैद्धान्तिक विचारलाई नेकपाभित्र व्यापक बनाउनका निम्ति देशभरका कार्यकर्तामाझ आफू पुग्ने पनि पोखरेलको दाबी थियो । पोखरेललाई ओलीले दिन लागेको स्कुल विभागको जिम्मेवारीलाई प्रचण्डले सैद्धान्तिक विषयको रिसिइवीको कारणसँग तुलना गरेर हेरेका छन् ।

स्रोतले भन्यो,‘स्कुल विभाग भनेको पार्टीका विभिन्न प्रशिक्षण र आगामी कार्यदिशा कस्तो हुनेछ भन्ने मुख्य जिम्मेवारीमा पर्छ, पोखरेल त्यसको प्रमूख भए जनताको बहुदलीय जनवादले नै प्रश्रय पाउने भएपछि पूर्वमाओवादी अत्तालिएका हुन् ।’

त्यसको त तत्कालका लागि नेकपाको राजनीतिक प्रतिवेदनमा प्रचण्डले भनेको जनताको जनवाद नै राखेर जाने सहमति भएको थियो । सोहीअनुसार राजनीतिक प्रतिवेदन प्रकाशनमा पनि सचिवालयमा सहमति जुट्यो ।
तर जनताको बहुदलीय जनवाद नै जनताको जनवादको पृष्ठभूमीको आधार रहेको भन्ने दाबी पोखरेललगायतको रहँदै आएको छ । त्यसमाथि सैद्धान्तिक बहसमा प्रचण्डसँग पोखरेलको स्पर्धाको प्रतिशोधका आधारमा स्कुल विभागमा पूर्वमाओवादीको दाबी रहेको बताइएको छ । यसैले पोखरेल प्रचण्डको निशानामा परेका हुन् । 

प्रचण्डको राजनीतिक विचारलाई छायाँमा पारेर जनताको बहुदलीय जनवादको स्कुलिङ पार्टीपंक्तिमा पुग्ने भएपछि पूर्वएमालेका विभागमा माओवादीको बक्रदृष्टि परेको पोखरेलनिकटस्थहरूले बताएका छन् ।

Post a Comment

0 Comments