Subscribe Us

रुप ज्योति ग्रुपको ठगीः बच्नका लागि सर्वोच्चको शरण



काठमाडौं । चर्चित व्यापारिक घराना रुप ज्योती ग्रुपले घरजग्गा कारोबारमा गम्भिर ठगी गरेको प्रमाण फेला परेको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित आवासीय घरहरू बनाई बिक्रि गर्दा बैना लिएर पनि हक हस्तान्तरण नगरेको भन्दै पीडितले अदालत गुहारेपछि ज्योती ग्रुपको ठगी प्रकरण फेला परेको हो ।

काठमाडौ महानगरपालिका वडा नम्बर–४ बालुवाटार बस्ने विज्ञेन्द्र कृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर १९ को जग्गा बैना लिएर २ बर्षमा बनाउने सहमति भएको थियो । तर सहमति विपरित ४ बर्षसम्म बैना लिएको जग्गामा न त घर बन्यो न त जग्गाको हक हस्तान्तरण भयो । ज्योती गु्रपले आफूलाई ठगी गरेको थाहा पाएपछि घर किन्ने विज्ञेन्द्र कृष्ण मल्लले कानुनी उपचारको बाटो खोज्न थाले ।

रुपज्योतिद्वारा सञ्चालित ज्योती एण्ड कम्पनी प्रालीका सञ्चालक समेतको जग्गामा ल्याण्डमार्क डेभलपर्स प्रालीले काठमाडौ महानगरपालिका–३ का आवासीय घरहरू बनाई बिक्रीवितरण गर्ने गरी निमार्ण गर्ने सहमति भएको थियो । घरहरू निमार्ण हुने भएपछि इच्छुक खरिदकर्ताहरूलाई खरिद गर्नका लागि वैशाख, २०७१ मा आह्वान गरिएको थियो ।

यस्तो थियो घटना विवरण
काठमाडौ महानगरपालिका वडा न ३ जग्गाहरू मध्ये १९ नम्बर प्लट को ०–६–३ –२.१६ को कायम भएको र यसको मूल्य २ करोड, १४ लाख १९ हजार सात सय पचास रुपैयाँ कायम गरिएको थियो ।
बुकिङका लागि विज्ञापनमा बुकिङ गर्दा १० लाख रुपैंया दिनुपर्ने र बाँकी राजिनामा पारित गरिदिने समयमा लिने दिने, सो प्लटमा दुबै पक्षको आपसी सहमतिमा घरको डिजाइन गरी दुई बर्षभित्र घरजग्गा हस्तान्तरण गर्ने विश्वासमा विज्ञेन्द्र कृष्ण मल्ल ल्याण्डमार्क डेभलपर्स प्रालीका शम्भु प्रसाद फुयाललाई बुकिङ रकम बैना बुझाएको थियो ।

फुयालले यो क्षेत्रका सबै प्लटको यसरी नै बैना लिएर घर निमार्ण गरेर सुम्पेका थिए । बैनापछि उक्त जग्गामा घर निमार्ण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता भएको भन्दै विश्वास दिलाएपछि पूर्ववत सहमति र विज्ञापनमा नभनिएको भन्दा माथि उठेर १ करोड छब्बिस लाख ७५ हजार फेरि बुझाए विज्ञेन्द्र कृष्ण मल्लले ।

उक्त प्लटमा घर बनाई २ बर्षमा घर दिनुपर्नेमा सो जग्गामा घर नबनाई बसेपछि मल्लले पटक–पटक भेटी रुपज्योती र ल्याण्डमार्क डेभलपर्ससँग भन्दा  कहिले नक्साको डिजाईन फाईनल हुन बाँकी त कहिले ठेकेदारसँगको सहमति हुन बाँकी भएको भन्दै आलटाल गरिरहे ।

४ बर्ष वितिसक्दा पनि घर निमार्ण गरी नदिएपछि र हक हस्तान्तरण समेत नभएपछि विज्ञेन्द्र कृष्ण मल्ल लाई आफु नेपालको सबैभन्दा धनाड्य ब्यापारी भएको र धेरै हल्ला गरे ठिक गरिदिने सम्मको धम्की दिएपछि बल्ल उजुरीमा गए । 

यसरी रुपज्योतिले आफ्नो जग्गामा ल्याण्डमार्कलाई समेत झुक्याएर ठगी गरी खाएको यकिन भएको हुँदा विपक्षीहरूलाई कारबाहीको माग गरी मुद्दा समेत दायर भएको छ । र मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

बच्न अदालतको शरणमा
रुपज्योति ग्रुप ठगी गरिसकेपछि मुद्दाबाट बच्न सर्वोच्च अदालतलाई समेत गुमराहमा राखी तथ्य लुकाएर देवानी प्रकृतिको भन्दै अदालत पुगेको छ ।

अरु जग्गामा घर बनाउन सहमति शम्भुप्रसाद फुयाललाई दिने तर १९ नम्बर प्लट मात्रै बैना हुँदा आफुलाई अनविज्ञ भएको र बेच्न नचाहेको दाबी गरेको छ । तर २०७१ सालमा भएको विज्ञापनमा प्रष्टसँग फुँयालसँग कारोबार गर्न सकिने खुलाईएको छ । फुँयालले उच्च अदलतमा ज्योति ग्रुपको बदमासीका कारण समस्या भएको र विज्ञेन्द्र कृष्ण मल्ललाई अन्याय परेको बताएका छन् ।

पहिले बैना गर्न अरुलाई अह्राउने र पछि आफूलाई जानकारी छैन भनेर पन्छिने मेसोमा ज्योति ग्रुप छ । फुयालले कम्पनीले ति सबै जग्गामा घर बनाएर बेच्ने गरी बैना गर्न अधिकार दिएको अदालतमा स्विकारेका छन् । यो मुद्दा देवानी प्रकृतिको भएकाले ठगी हुन सक्दैन । यसलाई देवानी अन्तर्गत चलाउनुपर्छ भन्दै अदालतलाई प्रभाव पारेपछि समस्या उत्पन्न भएको छ । विपक्षीलाई जग्गा र बैना बराबरको रकम दिनुको साटो अदालतलाई प्रभाव पार्न सकिने भन्दै हिडिरहेको छ ज्योति ग्रुप । यसले पीडितलाई झन पीडित बनाएको छ ।

Post a Comment

0 Comments