Subscribe Us

नेपालमा के गर्दैछन् ‘रअ’का नयाँ प्रमूख ?


  • भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक सन्देश लिएर गोयल नेपाल छिरेका हुन्, उनले गोप्य रूपमा नेकपा हाईकमान्ड नेता र मधेसी नेतासँग कुराकानी गर्ने दाबी गरिएको छ
  • राजनीतिक व्युरो हेर्ने प्रमूखसहित काठमाडौंमा उत्रिएका गोयलले रअको नेपाल नीतिबारेको निस्क्रियतालाई सक्रिय बनाएर फर्किने दाबी गरिएको छ

काठमाडौं । सुरक्षा निकायका जानकारहरूले नेपालको राजनीतिक गतिविधि भारतअनुकुल नभएको समिक्षासहितको रिपोर्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको दुई सातापछि रिसर्च एन्ड एनालाइसीस विङ (रअ)का नवनियुक्त प्रमूख सामन्तकुमार गोयल नेपाल छिरेका छन् ।

आइतबार त्रिभुवन विमानस्थल हुँदै राजधानी काठमाडौं छिरेका गोयलले नेपालको सत्तारुढ र प्रतिपक्षी दलका नेतासँग भेटी राजनीतिक गतिविधिका विषयमा जानकारी लिँदै भारतीय प्रधानमन्त्री मोदीका सन्देश दिनेछन् ।

नेपालमा राजनीतिक रूपमा प्रभाव जमाउन निस्क्रिय भएका रअका अधिकारीसँग छलफल गरी नयाँ रणनीति अख्तियार गर्दै उनी फर्किने बताइएको छ । कम्तिमा एक साता नेपाल बसाईका क्रममा उनले चीनको प्रभावबारे अध्ययन गरी भारतीय प्रभाव बढाउनका निम्ति आफ्ना एजेन्टहरूलाई निर्देशन दिने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभालको योजनाका आधारमा गोयलले नेपाली भूमीमा बसेरै नेपाल नीति र भारत सरकारको प्रभाव उच्च तहको राजनीतिक नेतामा पार्न सक्ने अनुमान गरिएको छ ।
भारतको उत्तर प्रदेश राजधानी लखनऊमा भएको भारतीय सुरक्षा अधिकारी र नेपाल मामिला जानकारहरूको एउटा सम्मेलनमा नेपालमा राजनीतिक प्रभाव कमजोर भएको, गुप्तचर संस्थाको काम कारबाही कमजोर बनेको विश्लेषणसहितको सुझाव डोभाल मार्फत प्रधानमन्त्री मोदीलाई दिएका थिए ।

यसै कारण पनि नेपालस्थित भारतीय दूतावासले सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसप्रति झुकाव राख्ने कतिपयलाई नयाँ सूचकका रूपमा नियुक्त गरिसकेको दाबी गरिएको छ । ति सूचकलाई पनि गोयलले सम्बोधन गर्नेछन् ।

बौद्धमा रहेको पाँचतारे होटल हायातको ३ सय २४ नम्बर कोठामा बसेका गोयलको सोमबारदेखि गोप्य र अनौपचारिक भेटघाट सुरु गरिसकेको बताइएको छ ।

उनीसँग ५ सदस्यीय टोली छ । जसमा राजनीतिक मामिला, सुरक्षा मामिलासहित प्राविधिक हेर्ने अधिकारी पनि रहेको दाबी गरिएको छ । स्रोतले भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक सन्देश लिएर गोयल नेपाल छिरेका हुन्, उनले गोप्य रूपमा नेकपा हाईकमान्ड नेता र मधेसी नेतासँग कुराकानी गर्ने दाबी गरेको छ ।

गोयलको नेपाल बसाईलाई पश्चिमा तथा चीनको प्रभाव नेपालमा कत्तिको परेको छ भन्ने परिक्षण पनि हुने बताइएको छ । भारतमा हिन्दूवादी पार्टी भारतीय जनता पार्टीको सरकार रहेका बेला संविधान संशोधनको विषयमा पनि गोयलले कुराकानी गर्न सक्ने अनुमान गरिएको छ । केही समय अघि भाजपाका शक्तिशाली नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राज्य बन्ने घोषणा गरेपछि राजनीतिमा फरक तरङ्ग आएको थियो ।

‘राजनीतिक भेटमा यी विषय पनि उठ्न सक्ने अनुमान गरिएको छ । तर, यो टोलीले चीनको प्रभाव कति बलियो छ भन्ने बुझ्ने कोशीश गर्नेछ’, उच्च स्रोतले भन्यो ।  गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । रअका विशेष सचिवका रुपमा कार्यरत उनी मोदी सरकारका खास मानिन्छन् ।

Post a Comment

0 Comments