Subscribe Us

सशस्त्रमा संगठनविरोधी एन्टीग्रुप

काठमाडौं । आफ्नो स्वार्थ पूरा नभएपछि सशस्त्र प्रहरी बलका केही कर्मचारीले योजनाबद्ध हिसाबले आइजी शैलेन्द्र खनाल र संगठनको बद्नामी गर्दै आएको खुलेको छ ।

आइजी नियुक्तिका बेला एक बर्ष जुनियर भए पनि मरिहत्ते गरेका एआइजी पुष्पराम केसीले संगठनविरुद्ध समूह नै बनाएर परिचालन गरेका हुन् । स्रोतका अनुसार एआईजी केसीले एसएसपी अभि खत्री, एसपी युवराज अर्याल, डिएसपी होम ज्ञावलीको समूह संगठनबिरुद्ध परिचालन गरिरहेका छन् । नुवाकोटको साईनो लगाउँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार  बिष्णु रिमालको नाम भजाउँदै एआईजी केसीले आफू चाँडै सशस्त्र प्रहरी प्रमुख बन्ने भन्दै जुनियर प्रहरीलाई धम्क्याँउदै आएका छन् ।

सशस्त्र प्रहरीको ‘केन्द्रीय लेखा स्टोर’ मा आगो लगाउने देखि संगठनबिरुद्ध मिडीयाबाजी गराउन समेत एआईजी केसीको प्रमुख भूमिका रहेको बताइन्छ । जनतामा अफवाह फैलाउन यो समूहले केही पत्रकारको दुरुपयोग गरेको चर्चा प्रधान कार्यालयमा चलेको छ ।

बार्षिक ६ करोड ५२ लाख इन्धन बजेट रहेको सशस्त्र मुख्यालयमा तीन महिनामा दुई गाडीमै ६ करोडको ईन्धन हाल्यो भन्ने जस्ता गलत सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराएर संगठनबिरुद्ध उत्रेको आरोप एआईजी केसीको समूहलाई लागेको छ । यो समूहका कारण सञ्चार माध्यमकै बिश्वनियतामा समेत प्रश्न चिन्ह खडा हुन पुगेको छ । जाँदै नगएको थाईल्यान्डमा आईजी खनाल पुगेर देश र सरकारबिरुद्ध लाग्यो भन्ने समाचारका विवरण पनि आएका थिए । ति विवरणमा कुनै सत्यता नरहेको आइजी सचिवालयले जनाएको छ ।

पूर्वआइजी कोषराज वन्तलाई अख्तियार दुरुपयोग आयोगबाट जोगाउन यो समूहले ‘केन्द्रीय लेखा स्टोर’ आगो लगाएका थिए । आगो काण्डमा अदालतबाट आरोपितले सफाई पाए पनि अख्तियारले भने छानबिन सुरु गरेको छ । आगलागीको डेढ बर्षपछि अख्तियारले ‘केन्द्रीय लेखा स्टोर’ मा कार्यरत दश कर्मचारीसँग बयान लिई सकेको छ ।

आइजी सचिवालय मातहत रहेको ‘केन्द्रीय लेखा स्टोर’ मा भएको आगलागीको घटना योजनाबद्ध तरिकाबाट भएको दाबी गर्दै अख्तियारले पुनः फाईल खोलेको हो । ३, पुस २०७४, मध्यरात १ बजेर ३० मिनेटमा लेखा स्टोरमा आगलागी भएको थियो । आगलागीसँगै गृहमन्त्रालय र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए ।

तत्कालिन समयमा दोषी देखिएका सशस्त्र प्रहरीका सईद्वय हुमबहादुर थापा, लिनबहादुर श्रेष्ठ र हवल्दार रामकृष्ण श्रेष्ठले जिल्ला अदालत काठमाडौंबाट सफाई पाईसकेपछि घटना झन रहस्यमय बन्दै गएको छ । अनुसन्धानको क्रममा आगो लागको प्रमाणित हुँदा पनि अदालतमा ईन्कारी बयान गरेकै आधारमा जिल्ला अदालतले सफाई दिएको भन्दै सरकारी वकिलले पुनरावेदन समेत गरेको छ ।

उक्त मुद्दा उच्च अदालत पाटनमा बिचाराधिन अबस्थामा रहेको छ । अनुसन्धानको क्रममा हवल्दार श्रेष्ठले अपराध स्वीकार्दै सई हुमबहादुरको आदेशमा आफूले आगजनी गरेको बयान दिएका थिए । उनकै बयानको आधारमा सईद्वय थापा र लिनबहादुर प्रतिवादी कायम भएका थिए । तर अदालतबाट सफाई पाए पनि घटनाको सत्यतथ्य बाहिर नआएको भन्दै अख्तियारले थप अनुसन्धान अगाडी बढाएको हो । अख्तियारले सशस्त्रका एसएसपी अभि खत्री, डिएसपी ध्रुव केसी, हवल्दार रामशरण ठकुरी, सहायक हवल्दार नगेन्द्रबहादुर कचाल, जितेन्द्र घिमिरे, धुब्रबहादुर श्रेष्ठ, परिचर चेतबहादुर श्रेष्ठ, राजाराम सेढाई लगायतसँग बयान लिई सकेको छ ।

स्रोतका अनुसार दश अधिकृतको बयानबाट उच्च प्रहरीकै आदेशमा लेखा स्टोरमा आगो लगाईएको खुलासा भएको छ । तत्कालिन समयमा अख्तियारले पूर्वआईजी वन्तमाथि भ्रष्टचार मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो । उक्त स्टोरमा त्यहि कागजातहरू रहेका थिए । उक्त कागजात अख्तियारको हात लागे आफू फस्ने भएपछि आफू निकटलाई प्रयोग गरेर वन्तले ‘केन्द्रीय लेखा स्टोर’ मा आगो लगाउन सफल भएको स्रोतले बतायो ।

वन्तले आफूनिकट एआईजी पुष्पराम केसीसँगको योजनामा एसपी अभि खत्रीलाई प्रयोग गरेर आगो लगाउन सफल भएको स्रोतले बतायो । अख्तियार लैजान तयार पारीएको कागजातलाई समेत एसपी युवराज अर्यालले पुनः ‘केन्द्रीय लेखा स्टोर’ मै राख्न लगाएका कारण एसपी अर्यालको समेत हात रहेको हलचोक मुख्यालय स्रोत बताउँछ ।

Post a Comment

0 Comments