Subscribe Us

नेपाल प्रहरीका आइजी खनाल अवधिमै निस्कने !

एक स्थायी कमिटी सदस्य, एक विभागीय प्रमूख, २ पोलिटव्युरो सदस्य, ७ केन्द्रीय सदस्य, ५ व्युरो प्रमूख, ६ भ्रातृ संगठन प्रमूख, १७ व्युरो सदस्य, ४३ जिल्ला इञ्चार्ज तथा सेक्रेटरी र ६६ भ्रातृ संगठन जिल्ला इञ्चार्जलाई प्रहरीले पक्राउ गरिसकेको छ 

काठमाडौं । बेलामौका पदावधि थपेर प्रहरीमा रजगज गर्ने आइजीहरूको खेलभित्र हालका नेपाल प्रहरी आइजी सर्वेन्द्र खनाल नपर्ने भएका छन् ।  साप्ताहिक पत्रिकाका सम्पादकहरूसँगको साक्षात्कारमा उनलाई सोधिएको प्रश्नको जवाफमा उनले भने,‘म अवधिमा नै निस्कन्छु, मेरो त्यस्तो कुनै मनसाय छैन ।’

प्रहरीका काममा सफलता हात लागे पनि एकाध घटनाका कारण दाँतमा ढुंगो लागे जस्तो भएका आइजी खनालले प्रगति विवरण पनि सुनाएका थिए । 

प्रहरीले ९७ प्रतिशत अपराध अनुसन्धानमा सफलता पाए पनि निर्मला पन्त प्रकरणले तितो नजिर स्थापित गरेको बताउँदै आइजी खनाल भन्छन्,‘यस प्रकरणमा पनि विभिन्न कोणबाट अनुसन्धान जारी छ, गहन अनुसन्धान गरिएको पनि थियो । त्यसका प्रभाव कतिपयको सस्पेन्सले पनि देखाउनुपर्ने हो ।’ उनले झन्डै ७९ प्रतिशतको सफलताको महान्यायाधीवक्ता कार्यालयको बार्षिक प्रतिवेदनको विवरण पनि देखाए ।

सरकार, संयुक्त राष्ट्र संघ र विभिन्न अन्तर्राष्ट्रिय निकायले मात्र नभई जनताले पनि प्रहरीलाई सम्मान गरेको बताएका उनले विभिन्न ठाउँमा हुने फूलमाला स्वागत त्यसका प्रतिविम्ब रहेको उल्लेख गरे । उनले अहिले पनि प्रहरी माथिको विश्वासमा अझ प्रगति भएको जनाउँदै हालसम्म अनुसन्धान र कारबाहीमा इतिहासमा नै बार्षिक प्रगति चार प्रतिशतले बढेको विवरण प्रस्तुत गरे ।

नेपाल प्रहरीमा हाल ७५ हजार ९२७ जनाको दरबन्दी छ, तर कार्यतर संख्या भने ६४ हजार ३२३ जनाको रहेको विवरण देखाएका आइजी खनाल भन्छन्,‘यति संख्याले पनि पुगेको छैन । तै पनि प्रहरीले मिहेनतका साथ, उच्च मनोबलका साथ काम गरेको छ ।’

संयुक्त राष्ट्र संघको मापदण्डलाई आधार मान्दा एक प्रहरी बराबर ३३३ जना जनताको सुरक्षा हुन्छ । तर नेपाल प्रहरीको संख्याको अनुपातको आधारमा एक जना बराबर ४३५ जना रहेको तथ्यांक प्रस्ततु गरेका खनाल थप्छन्,‘त्यो स्ट्यान्डर्डमा पनि पुग्न सक्छ ।’

कतिपयले मुस्कानसहितको सेवाको गलत व्याख्या गरिएको भन्दै आइजी खनालले कुनै अपराधीलाई हाँसेर स्वागत गर्न नसकिने पनि बताए । उनले थपे,‘सेवा दिँदा हाँसेर दिनु भन्ने सन्दर्भ ठिक हो तर परिस्थितिजन्य अवस्थामा व्याख्या हुनुपर्छ ।’

जनतालाई प्रहरीसँग जोड्नका लागि आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा एक साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको बताएका उनले भने,‘हामी विद्यालय, शिक्षक र समुदायमा पनि उल्लेख्य मात्रामा पुगेका छौं ।’

हिंसाको राजनीतिमा भएको कारण सरकारले प्रतिबन्ध गरेको नेकपा नेत्र विक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता पक्राउको अवस्थालाई पनि देखाएका थिए । हालसम्म १ हजार ५ सय १४ जना नेता कार्यकर्ता पक्राउ गरिएको उक्त समूहका अन्य नेता कार्यकर्ता पनि पक्राउका काम भइरहेको जनाए । पक्राउ परेका मध्ये १३ सय बढीलाई मुद्दा चलाइएको छ ।

कार्यकर्ताबाहेक नेता मात्रै एक सय १४८ जना पक्राउ गरिएको जानकारी दिएका खनालले तयार पारेको तथ्यांकमा एक स्थायी कमिटी सदस्य, एक विभागीय प्रमूख, २ पोलिटव्युरो सदस्य, ७ केन्द्रीय सदस्य, ५ व्युरो प्रमूख, ६ भ्रातृ संगठन प्रमूख, १७ व्युरो सदस्य, ४३ जिल्ला इञ्चार्ज तथा सेक्रेटरी र ६६ भ्रातृ संगठन जिल्ला इञ्चार्ज रहेको उल्लेख छ ।

Post a Comment

0 Comments