Subscribe Us

भवानीको भयले फेरियो कानुन

सत्ता र सांसदलाई प्रभावमा पारेकी उद्योग वाणिज्य महासंघ अध्यक्ष राणाले आफ्नो होटलमा क्यासिनो चलाउन सुरक्षा चुनौति थपिनेगरी कानुन परिवर्तन गराइन्  


काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेपाल–भारत सीमा नजिक रहेको नेपालगञ्जस्थित स्नेहा होटलमा अवैध क्यासिनो चलाउन कानुनी प्रावधान नै परिवर्तन गराएकी छन् ।
त्यसका लागि सत्तारुढ दल र संसदमा रहेका कतिपय दललाई उनले प्रभावमा पारेकी हुन् । यसअघिको कानुनअनुसार उनको होटलमा रहेको अवैध क्यासिनो बन्द हुने अवस्थामा पुगेको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चल्दै आएको होटल स्नेहाको क्यासिनो ‘आदेश खारेज’ हुने अबस्थमा बन्द हुने थियो । त्यसअघि नै राणाले नियमावली परिवर्तन गराएर त्यसलाई निरन्तरता दिने बाटो खोलेकी हुन् ।

ह्याप्पी आवरले राणाको होटलमा क्यासिनो चलाउनका निम्ति स्थायी वैद्यता पाएको छैन । बर्षौंअघि जारी भएको अन्तरिम आदेश खारेजीको प्रक्रियामा छ । सुरक्षाको दुष्टिकोणलाई मध्य नजर गर्दै तत्कालिन सरकारले क्यासिनो सञ्चालन गर्न अन्तर्राष्ट्रिय सीमानाबाट पाँच किलोमिटरको दूरी कायम राखेको थियो ।

अध्यक्ष राणाको प्रभावमा गत साता मन्त्रिपरिषद् बैठकले क्यासिनो नियमावलीको चौथो पटक संशोधन गर्दै अन्तर्राष्ट्रिय सीमाना र क्यासिनो रहने होटल बीचको दूरी घटाएर तिन किलोमिटरमा झारेको छ । होटल स्नेहा नेपाल–भारत सीमाबाट तीन किलोमिटरको दूरीमा मात्रै छ । यो नियमावली पास गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, मन्त्री राणाको प्रभावमा परेको स्रोतको दाबी छ ।


तत्कालिन सरकारले खुल्ला सिमाना र सुरक्षाको कारण देखाउँदै पाँच किलोमिटरको दूरी कायम गरेको थियो । खुल्ला सीमाना भएका कारण छेउछाउमै क्यासिनो र होटल खोल्दा लुटपाट, चोरी तथा जघन्य अपराधका घटना बढ्न सक्ने ठहर गर्दै उक्त नियम लागू भएको थियो ।

गेम सेन्टरको नाममा मिनी क्यासिनो सञ्चालन गर्दै सर्वसाधरणलाई बिचल्ली बनाउने किशोर सिलवाल र क्यानडाका एनआरएन तथा तराई मधेस सद्भावना पार्टीका सांसद रहेका नरेन्द्र शाहले पनि राणालाई उक्त नियम खारेज गर्न सहयोग गरेका थिए ।

सिलवाल र शाहले नै यो नियम परिवर्तनका लागि प्रभावमा पार्ने आर्थिक व्यवस्था गरी राणामार्फत उपल्लो तहमा पु¥याएको दाबी गरिएको छ । स्रोतका अनुसार यस प्रकरणमा पाँच करोडको चलखेल भएको छ । क्यासिनोका वादशाह मानिने सिलवाल र शाहले तत्कालिन माओवादीकी हिसिला यमी पर्यटनमन्त्री हुँदा नियम विपरीत सेन्ट्रल मिडिया र ह्याप्पी होमको नाममा मिनी क्यासिनो सञ्चालन गर्न पाईने गरी लाइसेन्स लिएका थिए । अहिले सोही लाईसेन्सबाट सामान्य होटलमा समेत यो समूहले मिनी क्यासिनो चलाएका छन् ।

सो लाईसेन्स लिन सिलवाल र शाहले त्यसबेला यमीलाई पनि पाँच करोड बुझाएको चर्चा क्यासिनो सर्कलमा छ । शाहले महेन्द्रनगरको ओपी, विराटनगरको रत्ना र वीरगञ्जको विरूवा होटेलमा मिनी क्यासिनो चलाउँदै आएका छन् । सरकारले बनाएको नियम पालना नगरी राज्यविरूद्ध अदालतबाट अन्तरिम आदेश लिएकै भरमा राजश्व समेत नतिरी मिनी क्यासिनो सञ्चालन गर्दै आएका सिलवाल र शाहको समूहले पर्यटन सचिव र मन्त्री जो–जो हुन्छन् उनीहरूलाई आर्थिक प्रलोभनमा पारी आफु अनुकुल चलाउँदै आएका छन् । 

अन्तरिम आदेश लिएको एक बर्षसम्म पनि अदालतको मुद्दालाई समेत आर्थिक चलखेल गरेकै भरमा सिलवाल र शाहले प्रक्रिया लम्ब्याएका थिए । पाँच किलोमिटरको नियम खारेज गरेर तिन किलोमिटर कायम गर्न साथ ठूलो सुरक्षा चुनैती थपिएको उच्च प्रहरी स्रोत बताउँछ । ‘यो नियम खारेज लागू भएसँगै क्यासिनो तथा होटलमा राज्यका उच्च निकायका व्यक्तिदेखि व्यापारी, नेता कुटनीतिक निकायका व्यक्तिहरूको बाक्लै आवतजावत हुने हुँदा ठूलो दुर्घटना नहोला भन्न सकिन्न’, प्रहरीका उच्च अधिकारी भन्छन् ।

Post a Comment

0 Comments