Subscribe Us

टिपर चालकबाट घुस लिँदै गर्दा काभ्रेबाट ५ प्रहरी पक्राउ


काभ्रे । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनका अनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बू राजमार्गमा पर्ने हिगुवापाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बाँनियालाई टिपर चालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

साथै, पाँचखाल प्रहरी चौकीमा कार्यरत हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ । उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए ।

कोइरालाका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम असुल्दै आएका थिए । उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रङ्गेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र विपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन् ।

Post a Comment

0 Comments