Subscribe Us

अस्पतालले दुर्घटनाको केशमा धेरै पैसा लिए : एसएसपी उत्तमराज सुवेदी


काठमाडौँ, ३२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताउनुभएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलङ्कीको सहकार्यमा आज यहाँ आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्र्रिया’मा उहाँले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले पनि चनाखो रहेको उल्लेख गर्नुभयो ।

अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको उहाँको भनाई थियो ।

परिसर प्रमुख सुवेदीले अस्पतालमा घट्न सक्ने सम्भावित घटनालाई विज्ञ टोली बनाएर समाधान गर्नतर्फ अस्पताल प्रशाासन लाग्नुपर्ने बताउनुभयो । चिकित्सकले बिरामीप्रति सहानुभूति राखी उपचार गर्न सके चिकित्सकको सुरक्षा चुनौती कम गर्न सकिने उहाँको भनाई थियो ।

उहाँले दुुर्घटनाका घटनामा अस्पतालले अनावश्यक रकम उठाएको भन्दै यसलाई रोक्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पताल जस्तो पवित्र स्थानलाई कमाई खाने भाँडो नबनाई सामाजिक सेवाको भावले जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अस्पतालमा हुने विचौलियाको अन्त्यका लागि वडा कार्यालय गम्भीर भएर लागेको उहाँको भनाई थियो । अध्यक्ष सापकोटाले कुनै पनि विरामी औषधी उपचारको अभावका कारण मर्न नपर्ने अवस्था सिर्जना गर्न अस्पतालहरु लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले अस्पतालमा हुने सुरक्षा चुनौतीलाई कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल नेशनल अस्पताल, स्टार अस्पताल, यति अस्पताल, व्लु क्रस अस्पताल, काठमाडौँ अस्पताल, वयोदा अस्पताल, ओम समाज अस्पताल, कालिमाटी चेस्ट अस्पताललगायत कलङ्की क्षेत्रका एक दर्जन अस्पतालका अध्यक्ष तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments