Subscribe Us

कानून कार्यान्वयनमा नेपाल प्रहरीले फड्को मारेको छ : महानिरीक्षक खनाल


काठमाडौं, १ भदौ ।  फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले अनाहकमा दुस्ख नपाउन्, निरअपराधी पीडितको रुपमा रहन नपरोस र पीडक कानुनको दायरामा आउन भन्ने अभिप्रायका साथ आएको कानुन संरक्षण एवम् कार्यान्वयन गर्न नेपाल प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभयो । नयाँ कानुन कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको चर्चा गर्दै उहाँले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी नमूनाको रुपमा प्रस्तुत भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीले गर्ने अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा अनुरुप नेपाल प्रहरीले उपलब्ध साधन स्रोतलाई अत्यधिक प्रयोग गरी काम गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्नुभयो । नेपालीहरुले विश्वमै अत्यन्त परिष्कृत सेवा पाउँछन् भन्ने कुराको नमूना प्रस्तुत गर्न आएको नयाँ कानुनलाई अवलम्बन गर्ने दिशामा नेपाल प्रहरी दृढ संकल्पित भई अपेक्षित परिणामतर्फ उन्मुख रहेको विचार उहाँले व्यक्त गर्नुभयो । राज्यले लिएको नीति र कानुनको प्रावधान परिपूर्ति गर्न नेपाल प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।   

उक्त अवसरमा पूर्व महान्यायाधिवक्ता प्रा।डा। युवराज संग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौं कि छैंनौ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । संहिता प्रहरीको हितमा रहेको चर्चा गर्दै प्रा।डा। संग्रौलाले नेपाल प्रहरीले ऐन कानुनबारे बृहद छलफल र विश्लेषण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गोष्ठीमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानुनको विश्वव्यापी मान्यता अनुसार कालजयी परिवर्तन लिएर ठूलो उपलब्धीका साथ संहिता आएको उल्लेख गर्नुभयो । संहिता कार्यान्वयनको पक्षमा नेपाल प्रहरीले गति लिएको चर्चा गर्दै न्यायाधीश ढुङ्गानाले आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय र सहकार्य गर्दै कार्यान्वयन पक्षलाई घनीभूत रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । 

उक्त अवसरमा नेपाल ल क्याम्पसका प्रमुख डा। डि।एन। पराजुलीले संहिताका प्रावधान कार्यान्वयनको प्रभावकारिता, त्यसमा खट्किएका पक्ष, कानुनी क्षेत्रमा हुने सुधारका विषय लगायत संहितामा आधारित पाठ्यक्रम परिवर्तन सम्बन्धमा चर्चा गर्नुभयो । संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन संहिताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह(न्यायाधिवक्ता श्याम कुमार भट्टराईले संहिता कार्यान्वयनमा देखिएका अवस्थाबारे चित्रण गर्दै यसको कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालय नेपाल प्रहरीसँग हातेमालो गर्दै सँगसँगै अगाडि बढ्दै आएको विचार व्यक्त गर्नुभयो । समाजलाई रुपान्तरण गर्ने यस्ता कानुनलाई व्यवहारमा लागू गर्न सके सफल भइने उल्लेख गर्दै उहाँले थप उपलब्धी हासिल गर्नतिर लाग्न आग्रह गर्नुभयो । 

उक्त अवसरमा गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव पुष्कर सापकोटाले संहिताले नयाँ संविधान, अन्तर्राष्ट्रिय कानुन      र न्यायका सिद्धान्तलाई समेटेको उल्लेख गर्नुभयो । यसको कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गर्दै उहाँले कार्यान्वयनमा समन्वय गर्न गृह मन्त्रालय सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानविद् टिकाराम भट्टराईले अपराध अनुसन्धानमा नेपाल प्रहरीले गुणात्मक फड्को मारिरहेको विचार व्यक्त गर्दै संहिता कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्न कानुन व्यवसायी तयार रहेको बताउनुभयो । संविधानले कोरेको मार्गनिर्देशन अनुसार अगाडि बढेमा सफल हुन सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्य र नेपाल प्रहरीले संहिता कार्यान्वयनको सन्दर्भमा गरेका कार्यहरुको विवेचना गर्नुभयो । संहिताले समेटेको आधुनिक मूल्य मान्यतालाई आत्मसात् गर्दै यसलाई कार्यान्वयन गर्नुपर्ने दायित्व र अवसर नेपाल प्रहरीलाई रहेको उहाँले बताउनुभयो ।
 
मूलुकी संहिता कार्यान्वयनको प्रभावकारिताको लेखाजोखा गर्ने, एक वर्षको अवधिमा नेपाल प्रहरीबाट संहिता कार्यान्वयनको क्रममा प्राप्त जिम्मेवारी अन्तर्गत भएका कार्यहरुका बारेमा सरोकारवालाहरुको पृष्ठपोषण प्राप्त गर्न र संहिता कार्यान्वयनको क्रममा अनुभव आदानप्रदान गरी अपराध अनुसन्धान कार्यलाई थप परिणाममुखी, सफल र वस्तुनिष्ठ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

Post a Comment

0 Comments