Subscribe Us

गृहसचिव राई र प्रहरी महानिरीक्षक खनालबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ, ३ भदौ । गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । 

गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृह मन्त्रालयका सचिव सचिव प्रेमकुमार राई र  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरी आफ्नो काम, जिम्मेवारी र उदेश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्नीपरिक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिँल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ,”–उहाँले भन्नुभयो ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएको बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौतापनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुराहरु सम्पादनमा समेटिएका छन् ।

एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सातवटा कार्य सर्तहरु र २२ वटा कार्यसम्पादन लक्ष्य र सूचकहरु रहेको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

Post a Comment

0 Comments