Subscribe Us

बंगलादेशमा नेपाली गिरोहको जुवा अड्डा

नेपाली कामदारको जीवन नै संकटमा पर्न सक्ने खतरा 


  • बंगलादेशी गुन्डाका आडमा विदेशमा अवैध जुवा चलाउनेहरूले करोडौं रकम प्रतिबन्धित बाटोबाट भित्राए 
  • बंगलादेशमा अवैध जुवा अड्डा चलाएको समूहले नेपाली युवालाई एक महिनाको भिसामा लैजान्छन्, अवैध ढंगले राख्छन् 
  • नेपालका क्यासिनोमा डिलरको काम गरेका, कलाकारिता गरेका, सानोतिनो गुन्डागर्दी गरेकाहरूका कारण झन्डै सय जना भन्दा बढी नेपालीको बेहाल हुन सक्ने 
  • विमानस्थल अधिकारी र प्रहरीसँग सेटिङ गरी अवैध हिसाबले नेपाली युवालाई ढाका पु¥याएर संकटमा काम लगाइन्छ  


काठमाडौं । स्थानीय राजनीतिज्ञ र गुन्डा नाइकेको संरक्षणमा बंगलादेशको राजधानी ढाकामा नेपाली गिरोहले चलाएको जुवा अड्डा (मिनि क्यासिनो)मा कार्यरत कामदारको अवस्था संकटमा पर्ने देखिएको छ । यो गिरोहले ढाकामा रहेका १७ भन्दा बढी यस्ता जुवा अड्डामा नेपाली कामदारलाई पु¥याउने र कतिपय आफैंले पनि सञ्चालन गरेको जनप्रहारले पत्ता लगाएको छ ।

बंगलादेश जस्तो मुस्लिम प्रधान मुलुकमा अवैध हिसाबले जोखिममा नेपालीले त्यस्ता अड्डामा काम गरिरहेका हुन् । नेपालका कतिपय क्यासिनोमा डिलरको काम गरेका, कलाकारितामा हात हालेका र गुन्डागर्दी गरेकाको लगानी त्यस्ता जुवा अड्डामा रहेको छ ।

स्रोतका अनुसार आशिश श्रेष्ठ, सुशील पाण्डेले ढाकामा राजनीतिज्ञ र गुन्डा नाइकलेलाई प्रभावमा पारी त्यहाँको स्थानीय सरकारको अनुमति लिई ‘भिक्टोरिया क्यासिनो’ नाममा जुवा अड्डा चलाएका छन् । यस्तै, बिजय उप्रेती, राजकुमार भट्टराई र दिनेश शर्माले ‘दिलखुश क्यासिनो’ चलाएका छन् । जसमा नेपालबाट ३० दिनको भिसा लगाएर विमानस्थलबाट नेपाली कामदारलाई ढाकासम्म पु¥याउने गरिएको स्रोतले जनाएको छ ।

महिनाको ६÷७ सय डलर तलबमा पु¥याएका त्यस्ता नेपालीको अन्य पेशागत सुरक्षा र ग्यारेन्टी भने केही पनि हुँदैन । ‘अवैधानिक हिसाबले लुकेर बस्ने हो, स्थानीय गुन्डा र घुसीया राजनीतिज्ञलाई प्रभावमा पारेर कानुनविपरित नेपाली कामदारलाई जोखिममा राखिन्छ’, स्रोतले भन्यो,‘सरकारले चाहेको दिन छापा हानेर पक्राउ गरे नेपाल फर्किने आधिकारिकता नै कम हुन्छ ।’

यस्तो धन्दामा नेपालमा कलाकारिता गरेका नागेन्द्र रिजाल पनि सक्रिय छन् । रिजालले ढाकामै ‘मामोडियन’, विनोद मैनालीले ‘उत्तराक्लव’ भन्नेमा लगानी गरी नेपाली कामदारलाई राखेका छन् । स्थानीय कासिम भनिनेको सम्पर्कका आधारमा यो गिरोहले ढाकामा जुवा अड्डा चलाउने निधो गरी लगानी गरेको बताइएको छ । यो गिरोहमा ज्ञानेन्द्र सिलवालको पनि संलग्नता रहेको छ ।

यसरी जुवा अड्डा चलाउने गिरोहका सदस्यको नेपालमा पनि गतिलो पृष्ठभूमी रहेको छैन । भिक्टोरियाका सञ्चालक आशिशको गुन्डागर्दीमा हात रहेको छ भने दिलखुसका राजकुमार, दिनेश र विजय ‘क्यास चिटिङ’मा माहिर मानिन्छन् । ‘नेपालका क्यासिनोमा काम गर्दा पैसा कसरी आफ्नो हातमा पार्ने भन्ने धन्दामा यीनिहरूको दख्खल छ । यीनिहरूले नै नेपालबाट ढाकासम्म प्रलोभन देखाएर नेपाली कामदारलाई जोखिममा काम लगाउने गर्छन्’, स्रोतले भन्यो ।

मामोडियमा सञ्चालक रिजालले भने नेपालका केही टेलिसिरियल र फिल्ममा अभिनय गरेका छन् । अभिनेता निखिल उप्रेतीसँग राम्रो सम्बन्ध रहेका रिजाल भैरव भन्ने फिल्ममा थिए । त्यसअघि इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसँग रिजालको पार्टनरसीप रहेको स्रोतले दाबी गरेको छ ।

‘यो गिरोहमा क्यासिनो किङचाहिँ दिनेश शर्मा हो । उसले पैसा कसरी जम्मा पार्ने र प्रशासन मिलाउने कामको सीप जानेको छ’, स्रोतले भन्यो,‘प्रशासनलाई उताबाट आउँदा रकम दिने खेल पनि हुने रहेछ ।’

गिरोहका प्रायः सबैको कुनै न कुनै रेकर्ड प्रहरीसँग रहेको छ । बंगलादेशमा जुवा अड्डा चलाएका कारण नै प्रतिबन्धित बाटोबाट करोडौं रकम नेपाल भित्राएर ठाउँ ठाउँमा लगानी गरिएको भेटिएको छ । ‘विमानस्थल अधिकारी र प्रहरीसँग सेटिङ गरी अवैध हिसाबले नेपाली युवालाई ढाका पु¥याएर संकटमा काम लगाइन्छ’, स्रोतले भन्यो ।

जोखिममा नेपाली कामदार
यो गिरोहले क्यासिनो भने पनि कुनै मापदण्डका आधारमा ति खोलिएका छैनन् । राजनीतिक भनसुन लाग्ने भएका कारण नेपाल भन्दा पनि सहज देखेर गिरोहले नेपालीलाई कामदार बनाएका छन् । तर, बंगलादेशको सरकारले एकै पटक कारबाही चलाए कोही पनि फर्कन पाउने अवस्था छैन ।

‘राहदानीमा एक महिनादेखि तीन महिनाको भिजिट भिसा लागेको हुन्छ, त्यस्ता व्यक्तिले काम गर्न नै पाइँदैन । तर त्यस्ता जुवा अड्डामा काम लगाइएको छ’, स्रोतले भन्यो,‘जुन सुकै बेला पक्राउ पर्न सक्ने जोखिम कम छैन ।’ केही महिना अघि अवैध हिसाबले काम गरेका २८ जना भन्दा बढी नेपालीलाई बंगलादेश सरकारले पक्राउ गरी कारबाही चलाएको थियो ।

बंगलादेशको कानुनअनुसार वैद्य हिसाबले खेलेका र केही गल्ती गरेकाका लागि मात्र ५ हजार टका जरिवाना तथा एक महिना कैदको व्यवस्था छ । तर, विदेशीका हकमा भने निक्कै कठोर कानुन अख्तियारी गरिएको छ । जसमा नेपाली पर्न सक्छन् । यसरी अवैध हिसाबले नेपाली पक्राउ परेको खण्डमा उनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड मिचेको आधारमा अनैतिक रुपमा काम गरेको, अवैध अड्डामा काम गरेको कानुन समेत आकर्षित हुन्छ । एक कानुनविद् भन्छन्,‘नेपालको भन्दा कठोर नियम र कानुन भएका कारण त्यसरी पक्राउ परेको खण्डमा ठूलो सजाय हुन सक्छ ।’

बंगलादेश सरकारको कानुनअनुसार भिजिट भिसामा पुगेर काम गरेको कोही विदेशी फेला परे पक्राउ गरी राहदानी जफतसहित कैदलगायतका सजाय छन् । यस हिसाबले त्यहाँ जुवा अड्डामा मात्र काम गरिरहेका कम्तिमा एक सय जना भन्दा बढी नेपाली जोखिममा छन् । 

Post a Comment

0 Comments