Subscribe Us

महाराजगञ्ज वृत्तका सफल डिएसपी फणिन्द्र प्रसाईँ


प्रहरी समाजसेवाको क्षेत्र हो । यही समाजसेवालाई पुरा गर्न नेपाल प्रहरी क्षेत्रमा जागिर खाने मानिसहरु धेरै छन् । कोही व्यक्तिगत रुचीका कारण प्रहरीमा जागिर खान्छन् त कोही परिवारको सल्लाहअनुसार । यीमध्ये व्यक्तिगत रुचीका कारण प्रहरीभित्र प्रवेश गरेका एक अफिसर फणिन्द्र प्रसाईँ ।

समुदायसँगको सहकार्यमा समाजभित्र हुने आपराधिक घटना निस्तेज पार्ने काम नेपाल प्रहरीको हो । त्यहि कामका लागि एक वर्ष पहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नेतृत्व समाल्न आएका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँ आफ्नो सफल कार्यकाल सम्पन्न गरेर नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएका छन् ।

प्रसाईँ नामले मात्र हैन कामले पनि उत्तिकै चर्चित छन् । चाहे यसअघि रसुवा जिल्लाको नेतृत्व समाल्दा होस् वा अरु कार्यालयको नेतृत्व समाल्दा होस् उनी सक्षम भएका छन् । प्रसाईँ आफ्नोमात्र एकल प्रयासले भन्दापनि आफ्नो सम्पूर्ण टिमको प्रयासका कारण आफु सफल भएको बताउँछन् ।

महाराजगञ्ज क्षेत्र सुरक्षा दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र हो । नेपालको एकमात्र राष्ट्रिय वसपार्क नयाँ बसपार्कदेखि टोखा, झोर, शिवपुरी, बुढानिलकण्ठ, सुकेधारा, धुम्बाराही, बालुवाटार, बसुन्धरा, टिचिङ अस्पताल, कान्ति अस्पताल, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयजस्ता क्षेत्र यहि वृत्तअन्तर्गत पर्दछन् ।
महाराजगञ्ज क्षेत्रको सुरक्षा हेर्न जोकोहीलाई सजिलो छैन । देशको राजधानीको प्रमुख स्थान महाराजगञ्जमा दैनिक सयौैँ घटनाहरु घटिरहेका हुन्छन् उक्त घटनालाई एक पछि अर्को केलाउनु चानचुने कुरा होइन ।

काठमाडौँका अधिकांश अस्पताल र राजदूतावास पनि यहि क्षेत्रमा छन् । वृत्तका अनुसार उक्त क्षेत्रमा २८ अस्पताल र विभिन्न देशका १३ राजदूतावास यहि क्षेत्रमा पर्दछन् । यस्तै, वहालावाल देखि भूपू सम्मका भिआइपी तथा भिभिआइपी व्यक्तिको निवासपनि यहि क्षेत्रमा पर्दछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीलगायत थुप्रै विशिष्ट व्यक्तिको सुरक्षा दिने जिम्मासमेत महाराजगञ्ज वृत्तले गर्ने गरेको छ । महाराजगञ्ज वृत्तअन्तर्गत मात्र प्रभाग र विट गरेर झण्डै एक दर्जन प्रहरी कार्यालय रहेका छन् ।

उक्त चुनौतीलाई चिर्दे एक वर्षको उमेरमा प्रसाईँले विभिन्न अपराधका केशमा ८८६ जनाविरुद्ध मुद्दा दायर गरेका छन् । उनले एक वर्षको उमेरमा तीन हजार १२६ व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरे । जसमा पुरुष दुई हजार ७२७ र महिला ३९९ जना छन् । मुद्दा दर्ता गरेका ८८६ मध्ये १६ विदेशी नागरिकसमेत रहेका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा गत वर्षको कात्तिकमा सुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रसाईँले निकै जोड दिएर अगाडि बढे । महाराजगञ्ज वृत्तको कार्यक्षेत्र टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका साथै काठमाडौँ महानगरपालिकाका २६, ३ र ४ नम्बर वडा पर्दछन् ।

महाराजगञ्ज वृत्तले आइजी खनालले सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेको छ । वृत्तले आफु अन्तर्गत टोखा र बुढानिलकण्ठ दुवै नगरपालिकामा पालिका समिति गठन गरिसकेको छ । यस्तै २२ वडा समिति, २५ टोल समिति, १४९ विद्यालय सम्पर्क समिति निर्माण गरेको छ । प्रसाईँकै नेतृत्वमा विभिन्न विद्यालयमा २१९ प्रशिक्षण कार्यक्रम र विभिन्न स्थानमा १९१ वटा होर्डिङ वोर्ड राखिएको छ ।

मुद्दा चलाइएकामध्ये मानव बेचविखनमा सात, जवरजस्ती करणीमा १४, चोरीमा १००, लागूऔषधमा ६८ रहेका छन् । यस्तै राहदानी, ज्यान कसुरलगायतमा पनि थुप्रै मुद्दा चलाइएको छ ।

प्रसाईँकै नेतृत्वमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनकै समयमा यसको शुभारम्भ गर्ने भनिएपनि भवनमा लिप्ट निर्माण भइनसकेकाले ढिलो भएको थियो ।

Post a Comment

0 Comments