Subscribe Us

व्यवस्था उल्टिने खतराको घण्टी

गणतन्त्रविरोधी शक्तिले टाउको उठाए संकटकाल लाग्न सक्छ !


  • भ्रष्टाचार, नातावाद, कृपावाद र ताकतको दुरुपयोगविरुद्ध आम मानिस भावुकताका आधारमा सडकमा ओइरिए हुन्, गणतन्त्रविरोधी नारा व्यापक  


काठमाडौं । यसै साता दुई दिनका लागि काठमाडौं आएका भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरका विषयमा देश या विदेशमा सामाजिक सञ्जालमा कुनै पनि प्रकारका व्यापक टिप्पणी भएनन् । बरु, त्यसका ठाउँमा राज्य संयन्त्रविरुद्ध एक जना टेलिभिजनकर्मी रवि लामिछानेलाई पूर्वसहकर्मी शालिकराम पुडासैनीको ‘आत्महत्या दुरुत्साहन’ अभियोगमा पक्राउ गरेको विषयले व्यापकता पायो । सामाजिक सञ्जाल मात्र नभएर सडक पनि तात्यो ।

यहि क्रममा राजावादीसहित कतिपय गणतन्त्र विरोधी शक्तिका कार्यकर्ता परिचालन भएको बुझाई सत्तारुढ नेकपाको रहेको छ । यस विषयमा सोमबार विहान बसेको सचिवालय बैठकमा पनि नेकपामा छलफल भएको थियो । जहाँ कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको सहभागीता थियो । मुलुकमा अहिले भइरहेको गतिविधिका विषयमा सोमबारै मन्त्रिपरिषद्को बैठकका क्रममा भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री केपी शर्मा आलीलाई जानकारी गराइएको छ ।

‘प्रधानमन्त्रीले गणतन्त्रविरोधीले टाउको उठाउने प्रयास गरे सबै शक्ति प्रयोग गरी हुलहुज्जतलाई रोक्नका लागि निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो,‘यस विषयमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गर्नुभएको छ ।’

चितवनमा जारी रहेको प्रदर्शन मुलुकका विभिन्न ठाउँमा पनि हुनसक्ने र त्यसले लामो समयको संघर्षपछि आएको गणतन्त्रमा खतरा देखा परिसकेको ब्रिफिङ प्रधानमन्त्रीले सुनेका थिए । ‘सडकमा संविधान नै नमान्ने र संविधानविरोधी शक्ति, सरकारमात्र नभएर विभिन्न नेताको चरित्र हत्या गर्नेसम्मको नाराजुलुस लागि सकेको जानकारी भयो, आवश्यक कदम चाली कारबाही प्रक्रिया र सुरक्षा स्थितिलाई बलियो बनाउन निर्देशन भयो ।’
सत्ताविरुद्ध बलियो प्रदर्शन भएपछि उस्तै परे संकटकालसम्मको तयारी गर्नुपर्ने सल्लाह बोकेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरिसकेका छन् । आइतबारै उनले भण्डारीसँग भेटी सरकारले परिचालन गर्न सक्ने प्रहरीको बसमा अवस्था नआए सेना नै अघि सार्नुपर्ने अवस्था आउन सक्ने सल्लाह भएको उच्च स्रोतको दाबी छ ।

उनले राजावादी र अन्य शक्ति मिलेर गणतन्त्रविरुद्धको अभियान नै बलियो बनिसकेको भन्दै व्यवस्थामा उस्तै प्रकारको खतराको घन्टी बजे सेनाको सहयोग लिनुपर्ने हुन सक्ने ब्रिफिङ राष्ट्रपतिलाई गरेका थिए ।

प्रहरी र सशस्त्र हाई अलर्ट 
सोमबार भएको मन्त्रिपरिषद् बैठकले अब उत्पन्न हुन सक्ने कम्युनिस्टविरोधी, लोकतन्त्रविरोधी शक्तिले अवस्थालाई प्रतिकूलतामा पार्न सक्ने भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा बसाउने निर्णय भएको बताइएको छ ।
/
‘यो घटनामा कुनै नेताले नबोले पनि हरेक चिजमा नजिकबाट नियालिरहेको अवस्था हो, स्थिति जसरी पनि भड्किन सक्ने भएकाले प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा राख्नका लागि गृह मन्त्रालयलाई निर्देशन जारी भएको छ’, स्रोतले भन्यो,‘यसले सत्ता वा प्रतिपक्षलाई मात्र नभई लोकतन्त्रलाई पनि खतरा रहेको भन्ने निष्कर्श निकालिएको छ ।’

विप्लव समूहको घुसपैठको आशंका 
लामिछानेसहितका युवराज कँडेलको पनि बयान र थुनछेक बहसका दिन नेकपा विप्लव समूहले बन्दको आह्वान गर्नुमा पनि स्थिति विगार्ने खेल हुनसक्ने भन्दै अहिले जारी भइरहेका गतिविधिका सन्दर्भमा सुरक्षा निकायका सूचना संयन्त्रलाई बलियो बनाउन निर्देशन दिइएको छ ।

आम जनताको विरोध प्रदर्शन भनिएको अवस्थामा विप्लवका कार्यकर्ताको पनि घुसपैठक हुनसक्ने आँकलन गृह मन्त्रालयले गरेको छ । स्रोतले भन्यो,‘यो खतरामाथि खतराको घन्टी भएका कारणले तत्काल निरुपणका लागि राजनीतिक दलका कार्यकर्तालाई पनि निर्देशन दिनुपर्ने भएको छ ।’

‘अहिलेसम्म आपराधिक र सामाजिक मुद्दा बनिरहेको थियो अब यसलाई राजनीतिकरण गरी व्यवस्था परिवर्तनको विषयसम्म जोडियो, यसैकारण सरकारले यसलाई खतराका रूपमा बुझेको छ’, उच्च स्रोतले भन्यो,‘राज्य र पद्दती विधिभन्दा माथि कोही पनि नहुने विषयलाई स्थापित बनाउनका निम्ति र राजनीतिक विषयभन्दा टाढा राख्नका निम्ति अवस्थालाई नजरअन्दाज नगर्न भनिएको छ ।’ 

आम मानिसले भने यो राजनीतिक दलको अकर्मण्यताका कारण उठेको अवस्थाका रूपमा बुझेका छन् । कतिपय समाजशास्त्री र विश्लेषकले भ्रष्टाचार, नातावाद, कृपावाद र ताकतको दुरुपयोगविरुद्ध आम मानिस भावुकताका आधारमा सडकमा ओइरिए हुन्, गणतन्त्रविरोधी नारा व्यापक बनिरहेको जनाएका छन् ।

Post a Comment

0 Comments